अभाव र प्रभावले दिएको तनाव

कुनै एक मन्त्री खुसी हुँदै मिठाई बाँडिरहेका थिए । यो दृश्य देखेर मन्त्रीका एक साथीले सोधे– ‘तिम्रो छोरो त जाँचमा फेल भयो र पनि तिमी कुन खुशियालीमा मिठाई बाँडिरहेका छौ ?’ प्रश्न झर्न नपाउँदै मन्त्रीले उत्तर दिए– ‘मेरो छोरो फेल भो त के बिग्रियो । कक्षाका सम्पूर्ण ५० जना विद्यार्थी मध्ये २० जनाले मात्र पास हुने मौका पाए । जबकि ३० जना फेल भए । यस अवस्थामा आखिर बहुमत त मेरो छोराकै पक्षमा छ । म यही खुसी बाँड्न मिठाइ ख्वाइरहेको छु ।’

यो कुनै आरोप, पूर्वाग्रह र व्यंग्य होइन । आफ्नो गुट, वर्ग र समूहलाई शक्तिशाली बनाउने नाममा भएका अभ्यासको उत्कर्ष हो । यो देशमा न कोही लोकतन्त्रवादी छन, न कुनै बामपन्थी छन् । यहाँ बदमास हुने दिनको पर्खाइमा बसेका कथित सज्जनहरुको भीड छ । बौद्धिक मानिस कम, पढन्ते ज्यादा छन् । राम्रा मानिस छन तर कुनै कुनामा छन तर गोलो पृथ्वीमा कुनाका मानिस खोज्नु बालुवा पेलेर तेल निकाल्नु समान छ । विशुद्ध लोकतन्त्र मानिसको मुटु, मृगौला र फोक्सो जस्तो स्वचालित हुन्छ । सत्ताको रथयात्रामा आरुढ व्यक्तिको रंगसंग यसको कुनै साइनो हुन्न । लोकतन्त्र मजबुत हुन त यसको प्रकृतिमा ठेस नलगाए पुग्छ । सवै तह र तप्काका मानिसमा स्वकर्म र स्वधर्म खोज्नु नै लोकतन्त्रको प्रधानता हो । समस्यामाथि समस्या थप्ने चुनावी अभ्यासले लोकतन्त्रलाई क्यासिनोमा अनुवाद गर्दैछ । टुक्रा टुक्रा पार्ने शक्तिशाली कैंचीभन्दा जोड्ने निर्वल सियो ठिक हो तर यहाँ राजनीतिक तालमेल भीर र भैंसीबीच हुँदैछ ।

पछिल्लो समय कम्युनिष्टलाई मानिस नठान्ने छारेरोगबाट ग्रसित बाबुराम भट्टराई शरीरको जुम्राले समेत छोड्ने अवस्थामा पुगेपछि वैतरणी तर्न एमाले हुन राजी भएका छन् । पार्टीको मुखिया पद आफ्ना सहकर्मीलाई सुम्पनुभन्दा कमल थापालाई दिन खुसी मान्ने शेरबहादुर, केपी र प्रचण्डको अनुदार प्रवृत्ति नै समस्याको मूल जड हो । आफ्नो सचिवालयलाई कमिसन एजेन्ट बनाएको कलंकित इतिहासबाट पापमोचन गर्न शीर्ष नेताहरु यसखाले अभ्यासमा लागेका छन् । हुन पनि यहाँ प्रतिपक्षको आभास नभएको धेरै भइसक्यो । भागशान्ति दलालतन्त्रले लालसलाम र जयनेपाललाई एउटै बास्केटमा राखेको छ ।

यो देशमा राजनीतिक, आर्थिक विकासमा धर्म कहिले बाधक थियो ? पशुपतिका पुजारीले कुन व्यवस्था अन्त्य गर्न भूमिका खेले ? राजाका मूल पुरोहितले कू गरेको इतिहास कहाँ छ ? तर राजनीतिको क्रान्तिकारी अस्त्र धर्ममा प्रहार भयो । अन्ततः जब आफ्नै निर्वाचन क्षेत्रमा नेताहरु असुरक्षित हुने कालो बादल मडारिन थाल्यो अनि शुरु भयो– भीर र भैंसीको मितेरी । यो यस्तो बाटोको यात्रा हो, जसले असल गन्तव्यमा पुर्याउँदैन ।

दशकौं एउटै ताउलोमा पकाएको भात खाएका केपी–माधव, प्रचण्ड–बाबुराम, शेरबहादुर–रामचन्द्रको सहयात्रा त एकादेशको कथा बनेको वर्तमानमा सीमारहित पार्टीको कल्पना मिठो, परिणाम चिराइतो भन्दा कम हुन्न । एउटा पार्टीले चुनाव जितेर कम्तिमा एक कार्यकाल सरकार चलाओस् भन्ने सबैको कामना हो । यसको मतलब यो हैन कि मुलुकको कार्यकारी निकायमा पुग्न घिउ व्यापारी र तरबार व्यापारीको पटकथा तयार होस् । एउटा मानिस बन्न बाबुको बीस, आमाको बीस क्रोमोजम आवश्यक हुन्छ । बाँकी ६ प्रतिशत स्वतः उभित्र विकास हुन्छ । व्यक्तिको पृष्ठभूमिमा त यतिका तत्व जोडिन आवश्यक छ भने पार्टी एकीकरण न रहरले हुन्छ, न कहरले हुन्छ ।

पछाडि फर्किएर हेर्ने हो भने लोकमानसिंह कार्की, भोजराज घिमिरे, चुडामणि शर्मा, गोपाल खड्का, भरत सुवेदीजस्ता सामान्य कर्मचारीको प्रतापमा गणतन्त्र र लोकतन्त्रको मियो अडेको छ । सरकारको कार्यकारी पद दलालका अधिया खेती बनेका छन् । दलहरुबीच गठजोडका मिथक त बुनिएका छन तर देशलाई दिशा दिन नसकेको पश्चाताप न कसैसंग छ, न अगाडि बढाउने सपना नै । जुन भाइरस मुलुकका लागि हानिकार ठहर्यो, त्यसको निदानमा कसैको ध्यान छैन । रुखमा नभइ पातमा समाधान खोज्नेहरुको हुटहुटी बढ्दो छ ।

संविधान कार्यान्वयनका नाममा राज्य अनुमोदित भेडीगोठमा भएका कुकर्म संझदा पनि कुरीकुरी लाग्ने अवस्था छ । नयाँलाई मौका दिनु भनेको हुक्के, ढोके, चम्चे, चण्डमुण्डलाई राज्यको राजपाट सुम्पनु होइन भन्ने चेत नेताहरुमा कहिल्यै आएन । राज्यका संवेदनशील निकायहरु राम्रा हैन, हाम्रा मान्छेले भर्नेे प्रतिस्पर्धा छ । अयोग्य मानिसलाई आँक्न नसक्ने अवसर दिइयो भने अवसर दिने र पाउने दुवैको हित हुँदैन ।

राजनीतिमा कागजी चिर्कटोको नभएर इमानको मूल्य हुन्छ । पद्मशमशेरले आफुलाई राष्ट्रको नोकर त भनेकै थिए, तर उनी कति नोकर प्रमाणित भए ? इतिहास साक्षी छँदैछ । सीडीओ कुट्ने करिमा बेगम राजनीतिक मैदानमा एकादेशकी कथा भइसकिन तर कुटाई खाने दुर्गाप्रसाद भण्डारी अहिले पनि सरकारका वरिष्ठ प्रशासक छँदैछन् ।

आठ पासे साथीलाई नेपाल वायुसेवा निगमको सारथी बनाउने खड्गबहादुर विश्वकर्मा साथीसंगै विलाएका छन् । क दुब्लायो भनेर रुने कालिदास प्रवृत्तिका कथित नेताहरु मन्त्री बनाइए । कोही राष्ट्रसंघका वक्ता भएर अंग्रेजीका धुरन्धर हुन खोजे । आखिर रंगाइएको विरालो बाघ कसरी हुन सक्थ्यो र ? म्याउ गरिहाल्यो । नजान्नेको उपचार छ । तर जान्दछु भनेर सपार्नु त परै जाओस् भएको पनि सिध्याउने अतिवादीहरुको उपचार छैन ।

नेपाल नै नटेकेको विदेशी उहीँ बसेर रेसम फिरिरिको कुशल गायक बनेका उदाहरण छन् । तर योग्यता, साधनाले नभएर जनयुद्धमा बास बसेको, जेलमा भात बोकेको, नेतालाई विना व्याज ऋण दिएको, विदेश जाँदा आतेजाते टिकट काटिदिएको जस्ता नाताका आधारमा राजनीतिमा प्रवेश पाएकाहरुले राजनीतिलाई कमाउको साधन बनाएका छन् ।

अर्काथरि छन– आस्था, निष्ठा, इमान्दारी भगवानलाई चढाएर नाफाको व्यापार गर्न पल्किएका सुकिला मुकिलाहरु । आफ्ना सन्तानलाई युरोप, अमेरिकामा स्थापित गराइसकेपछि बाँकी जीवन पिकनिकमा विताउन स्वदेश बसेका यिनीहरुले ‘जनयुद्धको मनोविज्ञान’ अनुसार नेताहरुलाई काम गर्ने रोडम्याप तयार गरिदिने गरेका छन् । यिनै थिए, जसले राजा ज्ञानेन्द्रलाई उकासेर टिभीमा समाचार पढाउन लगाए । यस्तैको तोरीलाहुरे गफमा भुल्दा नेताहरु रंग छुट्याउन नसक्ने भएका छन् ।

राजा त्रिभुवन आसेपासेहरुसंग भन्थे रे– ‘हाम्रा जनता जाबो दूध भात पनि खान पाउँदैनन त ?’ उनी त राजा भए केही हदसम्म यस्तो फन्टुस बुझाई पनि ठिक्कै होला रे ! तर हिजोसम्म कोदाको ढिंडोका भरमा जीवन घिसारेकाहरु कोदो र तोरीको अन्तर छुट्याउन नसक्ने भएपछि चाहिँ राजनीतिको बेथितिले धेरैलाई पोल्न थालेको हो ।

विश्वका प्रख्यात राजनीतिज्ञहरुले शिक्षाको शुरुवात कितावबाट होइन, कोक्रोबाट गरेका छन् । अब्राहम लिंकन स्कुलका प्रिन्सिपललाई चिट्ठी लेखेर सन्तानलाई व्यावहारिक ज्ञान दिलाउन आग्रह गर्थे । भारत स्वतन्त्रतापछि पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले जेलबाट छोरी ईन्दिरा गान्धीका नाममा पठाएका पत्रको पुस्तक नै छापिएको छ । जुन चिट्ठी ईन्दिरा गान्धीको राजनीतिक शुरुवातीको आधारस्तम्भ नै ठहरियो । बीपी कोइरालाले पनि जेलबाट नै छोरी चेतनालाई पत्र लेखेका थिए । जुन पत्रमा उनले ज्ञान, विज्ञान, समाज र संस्कृतिका विषयमा जानकारी गराएका थिए । आमा भनेको के हो ? यो प्रश्नको जिज्ञासा मेटाउँदै बीपीले छोरीलाई पठाएको पत्रमा लेखेका छन्– ‘यौटी स्वास्नीमानिस मात्र तिमी आमा हुन, जसको नाउँ छ सुशीला । यदि विज्ञानको कुरा गर्ने हो भने तिमीलाई धेरै खाँचो पर्दैन आमा कोहो भन्ने बुझ्न । तिम्रो मनको मायाको आँखाले सुशीलालाई आमा भनेर देखेको छ । तर विज्ञान अथवा साइन्सले आमा भन्ने को हो भन्ने चिन्न खोज्दा मनको मायाको आँखाले हेर्दैन । त्यसले अर्कै किसिमबाट आमा भन्ने मानिसलाई चिनाउँछ ।’ २००७ सालको जनक्रान्तिपछि बनेको सरकारमा गृहमन्त्री बनेका बीपीले देशका विभिन्न भागको पैदल भ्रमण गरी त्यहाँको शैक्षिक, आर्थिक र सामाजिक अवस्थाको अवलोकन गरेका थिए ।

ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन् । शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान । ज्ञानले बाँच्ने कला सिकाउँछ । तर सूचनाले फन्टुस गफ गर्न । यसैको परिणाम पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता हावी बन्दै गइरहेको छ । कानमा लगाइएको सुनले आफ्नो विज्ञापन गर्दैन । त्यसको सौन्दर्यपान मानिसले बाहिरबाटै हेरेर गर्न सक्छ । हो, साँचो शिक्षा पनि त्यही सुनको गहनाजस्तै हो । नीति नियम, शिक्षा समाजको पिछडिएको व्यक्तिलाई लक्षित गरिन्छ । कक्षाको सवैभन्दा नजान्नेलाई लक्षित गरी पढाइएको शिक्षा सार्थक हुन्छ । कक्षाको उत्कृष्ट छात्रलाई लक्षित गरिएको शिक्षाले शिक्षक पनि सफल होइन । तर अहिले लायक बनाउन सन्तानका लागि गरिएको लगानी आफैलाई नालायक प्रमाणित गर्ने काममा खर्च हुने गरेको छ । एकप्रकारले शिक्षा नजानिदो धोकाजस्तै भएको छ । यदि देशको राजनीति सुल्टो गतिमा अघि बढाउने नियत राखेको भए शिक्षा र स्वास्थ्यलाई जनताको आधारभूत अधिकारको रुपमा स्थापित गरिनुपथ्र्यो । समावेशीका नाममा सुन र पित्तल गिजोल्ने काम नगरेर शिक्षा र स्वास्थ्यमा सवैको पहुँच पुर्याउने काम गर्नुपथ्र्यो । सपथ ग्रहण गरेलगत्तै शिक्षामन्त्री दरबार हाइस्कुल र पद्मोदय स्कुल पुगेर शिक्षाको विकासमा इमान्दारीको संकल्प गर्नुपथ्र्यो । जनताका छोराछोरीलाई शिक्षाको उज्यालो दिएका यस्ता ऐतिहासिक शैक्षिक प्रतिष्ठानलाई देशका गौरव बनाइनुपथ्र्यो । यस्ता सवल जनशक्ति उत्पादन गर्ने विद्यालयलाई आज नोकर चाकर पढाउने दुर्ग्तिको स्कुल किन बनाइयो ? कोहीसंग छ यसको उत्तर ।

अहिले पनि टोनी हेगनले ५ दशकअघि कोरिदिएको दस्तावेज नेपाली भूगोलको देश बुझ्ने आधार बन्दै आएको छ । त्यसपछि डोरबहादुर विष्ट र हर्क गुरुङले पुरै देशको भ्रमण गरेर सामाजिक, आर्थिक, राजनीतिक अवस्थितिको लक्ष्मणरेखा कोरिदिए । गुरुङले देशलाई चालीस जिल्लामा घटाएर आर्थिक सन्तुलन मिलाउन दिएको योजनासहितको सल्लाह राजनीतिक पूर्वाग्रहमा परेर नासियो । गृष्मबहादुर देवकोटाले लेखेको राजनीतिक इतिहासलाई ‘पञ्चायती’ भनेर टिप्पणी गर्नेहरु त निस्किए तर त्यसको विकल्प दिने हिम्मत गर्ने अर्को सर्जक जन्मिएन । कानुन पढेर जंगबहादुरका पालामा लेखिएको मुलुकी ऐन नबुझ्नेहरु प्रशस्त देखिए तर समयसापेक्ष कानुनमा परिमार्जन गर्न सक्ने कोही जन्मिएनन् । राजा महेन्द्रलाई तानाशाही भन्नेहरुको उत्ताउलो हुल देखापर्यो तर त्यस्तै राष्ट्रवादी सोच भएकाहरु देखिएनन् ।

सीप होइन गफाडी जन्माउने शिक्षाका कारण समाजबाट सभ्यता र संस्कृतिका अमूल्य सम्पदा हराउँदै गएका छन् । शिक्षा मुलुकको सभ्यता हो । कुन देश कति समृद्ध छ भनेर जाँच्ने कसी भनेको त्यो देशका नागरिक कति शिक्षित छन् भन्ने हो । अहिले हाम्रो मुलुकमा खड्किएको मुख्य विषय भनेको नागरिक शिक्षा हो । राज्यबाट निर्देशित नियमको डोरीले सवै नागरिकलाई नबाँधेसम्म मनपरीतन्त्र नरोकिने निश्चित छ ।

Sanketkoirala07@gmail.com