निर्वाचन सफल पार्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण छः प्रधानमन्त्री

काठमाण्डाै, २७ असाेज । प्रधानमन्त्री शेर वहादुर देउवाले प्रदेश र प्रतिनीधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

६२ औं प्रहरी दिवसका अबसरमा प्रहरी प्रधान कार्यालयले शुक्रबार काठमाडौमा गरेको अमर प्रहरीप्रति श्रद्धाञ्जली तथा पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा प्रहरीले खेलेको भूमिको प्रसंसा गर्दे आगामी निर्वाचन पनि प्रहरीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले मुलुकमा अमनचयन कायम गर्दे विधिको शासन कायम गराउन प्रहरीको महत्वपूर्ण भूमिका हुनेमा जोड दिए । कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले जनताको सुरक्षामा प्रहरी र सरकारले कुनै पनि सम्झौता नगर्ने धारणा राखे । उनले प्रहरी संगठन ऐन, नियम र प्रणाली अनुसार संचालन हुनुपर्ने भएकाले कसैले संगठनलाई व्यक्तिगत दवाव दिन नमिल्ने र दवावमा चल्न नहुने समेत बताए ।

त्यस्तै प्रहरी प्रमुख प्रकाश अर्यालले मुलुकमा शान्ति सुरक्षा अमनचयनका लागी जनताले गरेको विस्वासलाई कायम राख्दै अघि बढ्ने धारणा राख्नुभयो । कार्यक्रममा प्रधानमन्त्री देउवाले २५ जना वीर प्रहरीका परिवारलाई सम्मान तथा कदरपत्र प्रदान गरेका थिए ।