October 20, 2017

मालपोत कार्यालय बागलुङका प्रमुख घुससहित पक्राउ

बागलुङ, २७ असोज । जिल्ला मालपोत कार्यालय बागलुङका प्रमुख विश्वनाथ शर्मा सेवाग्राहीबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका छन्।

सेवाग्राहीबाट नगद दस हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले उनलार्इ आफ्नै कार्यकक्षबाट रकमसहित पक्रेको हो । अख्तियारको टोलीले सेवाग्राहीसँग शर्माले घुस मागेको थाहा पाएपछि बिहीबार साँझ छापा मारेका थियो ।

घुस मागेको पूर्व सूचनाको आधारमा अख्तियारको टोलीले शर्मालाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए । शर्माले आफ्नो जग्गा पास गरिदिन मालपोत कार्यालय पुगेका बागलुङ नगरपालिका-२ का सुजितप्रसाद आचार्यलाई घुस मागेका सुजितसँग मालपोत पुगेका रामप्रसाद घिमिरेले बताए ।

आचार्य सबै प्रक्रिया पूरा गरेर मंगलबार नै कामका लागि कार्यालय गए पनि शर्माले कगजात नपुगेको भन्दै काम गर्न नसक्ने बताएका घिमिरेको भनाइ छ ।

मिलाएर काम गर्न भन्दै उनले घुस मागेपछि अचार्यले अख्तियार टोलीलाई खबर गरेका हुन् । पक्राउ परेका शर्मालाई अख्तियार टोलीले थप अनुसन्धानको लागि पोखरा लगेको छ।