गठबन्धन कांग्रेसकाे उदारतामा निर्भर रहने : उपेन्द्र यादव

काठमाण्डौं २६ असोज । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसको उदारताका आधारमा चुनावी गठबन्धन हुने वा नहुने स्पष्ट पार्नुभएको छ ।
बिहिबार समाजवादी फोरम र नेपाल कम्यूनिष्ट पार्टी संयूक्त मार्क्सवादीबीच भएको पार्टी एकीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्ताे बताएका हुन ।

बामगठबन्धन बन्ने लागेपछि काँग्रेसले आफुहरुसँग चुनावी तालमेलमा सामेल हुन आग्रह गरेको बताउँदै अध्यक्ष यादवले काँग्रेसले सबैलाई मिलाएर लैजाने हो भने तालमेल गर्न तयार रहेको बताए ।

अध्यक्ष यादवले बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनकोबीचको वैकल्पिक राजनीतिक शक्तिको रुपमा विकास गरेर समाजवादी फोरमलाई उत्पीडित,मधेशी,जनजाति, थारुको उत्थान र समान न्याय, समान अधिकार, राष्ट्रिय पहिचान, समृद्धि र स्वाभिमानको महशुस गराउनतर्फ लाग्ने जानकारी दिए ।

स्वामित्व ग्रहण गर्न लायक नभएको भन्दै विगतमा ६ वटा संविधानहरु जलेको उदाहरण दिँदै अध्यक्ष यादवले वर्तमान संविधानलाई संशोधन गर्न परिवर्तनकारीहरु उभिएको बताए ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी संयूक्त मार्क्सवादीका महासचिव प्रकाश अधिकारीले बाँकी आन्दोलन र अधिकारको लडाई फोरमका अध्यक्षसँग मिलेर सफल पार्ने बताए ।