October 20, 2017

कम्युनिष्ट शासन ल्याउने प्रयासरत दलहरुलाई दवाउनु पर्ने नेता सिंहकाे भनार्इ

काठमाण्डाै, २६ असाेज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रलाई दवाएर कम्युनिष्ट शासन ल्याउन प्रयासरत दलहरुलाई समयमै दवाउन जरुरी रहेको बताएका छन् ।

कांग्रेस काठमाडौंले बिहिवार क्षेत्रपाटीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिंहले संसारभरी कम्युनिष्ट सिद्धान्त फेल भएको भन्दै नेपालमा १० वर्षभित्रै कम्युनिष्ट शासन ल्याउन उद्धत दलहरुलाई आगामी निर्वाचनमा पराजित गर्न जरुरी रहेको बताए ।

उनले कम्युनिष्ट शासन भएका उत्तर कोरिया र क्युवाका जनताले भोग्दै आएको पीडाको उदाहरण दिंदै नेपाली जनतालाई कम्युनिष्ट सिद्धान्तका बारेमा प्रष्ट पार्न अगुवा कार्यकर्तालाइ आग्रह गरे ।

राम्रो काम गर्दैमा सबै थोक नहुने भन्दै नेता सिंहले कांग्रेसले लोकतन्त्र संस्थागत गर्न र मुलुकलाई समृद्धितर्फ लैजान गरेका कामहरुको बारेमा जनतालाई सम्झाउन जरुरी रहेको आवश्यकता औंल्याए ।

कम्युनिष्टहरुले कांग्रेसले गरेका कामहरु पनि आफूले गरेको भनेर जनतालाई झुक्याउदै आएको नेता सिंहकाे भनाई थियो । लोकतन्त्र र संविधान संस्थागत गर्न कांग्रेसले जित्न जरुरी रहेको जिकिर गर्दै उनले जितका लागि सबैले एकजुट भएर लाग्नु पर्ने धारणा राखे ।