स्पेनिस प्रधानमन्त्रीद्वारा क्याटालोनियाका नेतालाई पाँचदिनकाे अल्टिमेटम

काठमाण्डाै, २६  असोज । स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटालोनियाका स्वतन्त्रतावादी नेतालाई स्वतन्त्रता घोषणा गर्ने वा नगर्ने अन्तिम निर्णय गर्न पाँच दिनको अल्टिमेटम दिएका छन् ।

स्पेनबाट स्वतन्त्र हुन चाहेको क्याटालोनियामा गएको अक्टोबर १ मा जनमत संग्रह भएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमत संग्रहमा स्वतन्त्रताको पक्षमा बहुमत आएको थियो ।

क्याटलन नेताहरुले स्वतन्त्र भएको घोषणामा मंगलबार हस्ताक्षर गरेका थिए। तर उनीहरुले म्याड्रिडसँगको वार्तालाई ठाउँ दिन भन्दै त्यसको कार्यान्वयन स्थगित गरेका थिए । स्पेन पृथकतावादी सरकारले क्याटलोनियामा १ अक्टोबरमा विवादास्पद जनमत संग्रह गरेपछि समस्यामा परेको छ ।

स्पेनका प्रधानमन्त्री राखोयले स्वतन्त्रता सम्बन्धी प्रस्तावमा हप्ताक्षर गर्ने क्याटलान नेताको कदम राम्रो नभएको भन्दै स्वतन्त्र हुने या नहुने भन्ने निर्णय गर्न पाँच दिने अल्टिमेटम दिएका हुन् ।

आउँदो सोमबार भित्रमा स्वतन्त्र घोषणा सम्बन्धी हस्ताक्षर गरिएको घोषणा फिर्ता नगरेमा स्पेनको संविधानको धारा १ सय ५५ अनुसार क्याटालोनियाको स्वायत्तता निलम्बन गरी केन्द्रीय शासन लागु गर्ने प्रधानमन्त्री राखोयको भनाई छ ।