October 20, 2017

गठबन्धनमा सिट बाँडफाँडको सकस , यसकारण टुंगिएन क्षेत्र बाँडफाँड

काठमाण्डौ, २६ असाेज । एमाले र माओवादीले एक सातादेखि प्रयास गरे पनि निर्वाचन क्षेत्र र सिट बाँडफाँट टुंग्याउन सकेका छैनन् ।

सूर्य चिह्न लिएर निर्वाचनमा जाने सहमित सहित वाम गठबन्धनमा सामेल नयाँ शक्तिले पाउने सिटका विषयमा त छलफलसमेत भएको छैन । गठबन्धनमै आउने तयारीमा रहेका नेकपा माले र राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा पाउने क्षेत्र र सिटबारे पनि अन्योल छ ।

तीन दिनपछि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएकाले त्यसअघि नै क्षेत्र बाँडफाँट टुंग्याउनुपर्ने दबाब दलहरुलाई छ । कार्यदलका सदस्यसमेत रहेका एमाले नेता सुरेन्द्र पाण्डेले बुधाबर प्रदेश १ बाट छलफल सुरु गरिए पनि टुंगो नलागेको बताए ।

‘१ नम्बर प्रदेशबाट प्रारम्भिक छलफल सुरु भएको छ,’ उनले भने, ‘केही जिल्लामा निष्कर्षनजिक पुगेका छौं, केही जिल्लाको टुंगो लगाउन बाँकी छ। बिहीबार फेरि छलफललाई निरन्तरता दिने गरी बैठक स्थगित भयो ।’

कार्यदलले ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, ओखलढुंगा र खोटाङको प्रतिनिधिसभा र प्रदेश सभामा कुन दल लड्ने टुंगो भन्ने लगाएको छ । धनकुटा, तेह्रथुम र सोलुखम्बु तथा धेरै निर्वाचन क्षेत्र भएका झापा, मोरङ, सुनसरीको क्षेत्र बाँडफाँडमा छलफल भए पनि टुंगिन बाँकी रहेको कार्यदलका एक सदस्यले बताए ।

एमाले र माओवादी केन्द्रले आपसी छलफल जारी राखे पनि वाम गठबन्धनमा आबद्ध नयाँ शक्ति पार्टी नेपाल तथा सामेल हुने तयारीमा रहेको नेकपा माले र राजमोलाई दिइने क्षेत्र र सिट संख्याबारे अझै छलफल भएको छैन । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।