स्थानीय निर्वाचन प्रयोजनका लागि भारत सरकारको ८६ वटा गाडी सहयोग

काठमाण्डौ, १८ वैशाख । स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगलाई भारत सरकारले ८६ वटा गाडी हस्तान्तरण गरेको छ ।

निर्वाचन आयोगको परिसरमा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले गाडीको चाबी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई हस्तान्तरण गरे । भारतले ८ करोड ९ लाख बराबरको गाडी आयोगलाई दिएको हो । जसमा ३५ वटा पिक अप भ्यान, ३० वटा मोटरसाइकल, ७ वटा स्कोरपियो जिप, ७ वटा स्कुटर, ५ वटा कार, एउटा मिनीबस र माइक्रो बस रहेको छ ।

भारतीय राजदूतावासले स्थानीय तहको निर्वाचन गर्न लागेकोमा नेपाल सरकारलाई बधाई दिँदै स्वच्छ र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न आयोगलाई शुभकामना पनि दिएको छ । दूतावासले प्रजातन्त्रको सुदृढीकरणका लागि गर्ने सहयोग अन्तर्गत नै गाडी हस्तान्तरण गरेको जनाएको छ ।