October 20, 2017

कांग्रेसको ‘चीन चिन्ता’

काठमण्डौ,२४ असाेज । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकता प्रक्रिया अघि बढ्ने घोषणा हुँदैछ भन्ने समाचार सम्प्रेषण हुन थालेपछि असोज १७ गते अपराह्न कांग्रेसका नेताहरू बालुवाटारमा भेला हुँदै थिए ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेललगायत नेता त्यसै विषयमा कुराकानी गर्दै थिए । उपस्थित एक नेता भन्छन्, ‘प्रधानमन्त्री देउवाले अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग ४० प्रतिशत सिट लिएर चुनावी तालमेल गर्न लागेको बताएका थिए भनेर सुनाउँदै हुनुहुन्थ्यो ।’

तर उपस्थित नेताहरूले त्यस्तो गठबन्धन बन्ला र भनेर शंका पनि गरिरहेका थिए । कांग्रेस नेताबीच तालमेल रोक्न अन्तिमपटक दाहालसँग पुनः कुरा गर्ने कि भनेर मन्थन चलिरहेको थियो । त्यसैबेला सिटौलाले देउवालाई भने, ‘छाडिदिनुस्, अब दाहाल कुनै पनि हालतमा फर्कने सम्भावना छैन ।’

एक नेताले सिटौलालाई उद्धृत गर्दै भने, ‘शान्ति प्रक्रियामा आएपछि पहिलोचोटि सार्वजनिक हुँदै गर्दा दाहालले आउँछु भनेको मितिमा आएनन् । पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन चिनियाँ राजदूतलाई बोलाएर किन दाहाल आएनन् भन्ने जिज्ञासा राखेपछि राजदूतले म बुझ्छु भनेर फर्केका थिए ।

राजदूत भेटेको केही घन्टामै दाहाल सार्वजनिक हुन राजी भएका थिए ।’ सिटौलाले त्यसो भनेपछि देउवा पनि चिनियाँ राजदूत बोलाउन तम्तयार देखिए । ‘चिनियाँ राजदूतलाई बोलाएर हुन लागेको वाम गठबन्धन रोक्न आग्रह गरौं त ? ‘देउवा र सिटौलाबीचको संवाद उद्धृत गर्दै ती नेताले भने, ‘अब अन्तिम समयमा त्यो सम्भव छैन भन्दै सिटौला देउवालाई सम्झाउँदै थिए ।’

वाम गठबन्धनबारे बालुवाटारको त्यो बुझाइ यतिबेला आम भइसकेको छ । सञ्चारमाध्यमदेखि विज्ञहरू यो गठबन्धनका पछाडि ‘चिनियाँ प्रभाव’ रहेको विश्लेषण गरिरहेका छन् । तर, चीन त्यो आरोप स्विकार्न तयार छैन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग चिनियाँ राजदूत यु होङले शनिबार आफूसँगको भेटमा वाम गठबन्धनमा आफूहरूको कुनै भूमिका नभएको बताएकी थिइन् ।

पौडेलले भने, ‘मैले राजदूत होङलाई किन चिनियाँ पक्षले वाम एकतामा भूमिका खेलेको भनेर प्रश्न गरेको थिएँ तर उहाँले त्यस्तो केही होइन। मिडियाले उचालेको मात्रै हो भन्नुभयो ।’ ‘कांग्रेस र मधेसीबीच सहकार्य हुँदा यहाँ मिडियाले भारतले भूमिका खेल्यो भनेर लेख्छ । अहिले वाम एकता हुँदा हामीलाई जोडेको हो तर हाम्रो संलग्नता छैन’, चिनियाँ राजदूतसँगको संवादलाई उद्धृत गर्दै पौडेलले भने।

वाम गठबन्धनको घोषणापछि कांग्रेसले हरेक बैठकमा चिनियाँ भूमिकाको समीक्षा हुने गरेको एक नेता बताउँछन् । ती समीक्षात्मक बैठकबाट उसले गठबन्धनमा चिनियाँ भूमिका रहेको निष्कर्ष निकालेको छ ।

कांग्रेसीले एमाले अध्यक्ष केपी ओलीको सरकारलाई हटाएर कांग्रेस-माओवादी गठबन्धन बन्दा जसरी भारतले ‘ब्याक फोर्स’ गरेको थियो, त्यसरी नै अहिले त्यसको जवाफस्वरूप चीनले आफ्नो ‘ब्याक फोर्स’ मा वामगठबन्धन बनाएर भारतलाई जवाफ दिन खोजेको हुन सक्ने विश्लेषण ती नेता गर्छन्।

कांग्रेसका अर्का नेता एनपी साउद भन्छन्, ‘आश्चर्यचकित ढंगले जसरी कम्युनिस्टको एकता भएको छ, त्यसले प्रश्न गर्ने ठाउँ थ्रुपै छन्।’ आफूसँग बेखुस कांग्रेसलाई आश्वस्त पार्न चिनियाँ दूतावासले सक्रियता बढाएको छ । राजदूत होङले प्रधानमन्त्री शेरबहादुर देउवा, पौडेललगायत नेतासँग भेटेरै यसमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दिएकी छन् ।

शनिबार होङले प्रधानमन्त्री देउवासँग दिउँसो ३ बजेदेखि ४ बजेसम्म छलफल गरेकी थिइन् । हुन त एमाले नेतृत्वको सरकारी गठबन्धन भत्काएर कांग्रेससँग माओवादीले एक वर्षअगाडि नै सत्तागठबन्धन बनाउँदा चीन बेखुस रहेको विश्लेषण चिनियाँ बुद्धिजीवीबाट आएको थियो ।

कतिपय चिनियाँ बुद्धिजीवीले माओवादी अध्यक्ष दाहाल भारतको दबाबका कारण एमालेसँगको सत्तागठबन्धन तोडेर कांग्रेससँग तालमेल गरेको सार्वजनिक अन्तर्वार्तामा बताएका थिए । देउवा यो सत्तागठबन्धन बनाउनुअघि भारतमा स्वतन्त्र तिब्बतको कार्यक्रममा सहभागी भएपछि चिनियाँ पक्षले कडा रोष प्रकट गरेका थिए ।

त्यसलगत्तै नेपाल भ्रमणमा आएको उच्च चिनियाँ प्रतिनिधिमण्डलले अन्य शीर्षनेतासँग भेटे पनि देउवासँग भेटेको थिएन। याे खबर अन्नपूर्ण पाेस्टमा छ ।