उम्मेदवारी दर्ता कार्यक्रमको तयारी पूरा भएको निर्वाचन आयोगद्वारा जानकारी

काठमाण्डौ, १८ वैशाख । निर्वाचन आयोगले मंगलबारको लागि तय गरिएको उम्मेदवारी दर्ता कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै वैशाख ३१ गते तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहका लागि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले स्थानीय सरकार निर्माण गर्ने महत्वपूर्ण अवसरलाई पर्वका रूपमा लिएर उत्साहका साथ उम्मेदवारी दर्ता गराउन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसँग आग्रह गरे ।

यसैबीच भोलिदेखि नै उम्मेद्वारहरुलाई आचार संहिता लाग्ने भएको छ । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारका लागि समेत स्वतः निर्वाचन आचारसंहिता लागू हुने यादवले जानकारी दिए ।