August 23, 2017

घोषणापत्र जारी गर्दै ओलीले भने– महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिनुस्

काठमाण्डौ, १८ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले प्रधान न्यायाधीश सुशिला कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक कार्यक्रममा ओलीले स्वतन्त्र न्यायपालिका माथिको प्रहारलाई कसैले स्वीकार नगर्ने उल्लेख गर्दै न्यायपालिका माथि कार्यपालिकाले हस्तक्षेप गर्न नमिल्ने बताए । प्रधान न्यायाधीश सुशीला कार्की विरुद्घको महाअभियोग प्रस्ताव संसदबाट पास नहुने बताउँदै उनले संविधान संशोधन राष्ट्रहीत विपरीत भएकाले सो प्रस्ताव नेकपा एमाललेले पास हुन नदिने दृढता पनि व्यक्त गरे ।

एमालेको घोषणापत्रमा पूर्वाधार, कृषि, उद्योग, ऊर्जा र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई सम्बृद्ध बनाउने योजना उल्लेख गरिएको छ । गरिबीको रेखामुनी रहेका नागरिकलाई विशेष परिचयपत्र उपलब्ध गराउने, आगामी १० वर्षमा थप १५ हजार मेगावट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको छ । त्यस्तै घोषणापत्रमा एमालेले सडक रेल र यातायातका क्षेत्रमा पनि योजना अघि सारेको छ । राजमार्ग र रेलमार्ग बनाउँदा सुरुङ र उच्च पुल निर्माण प्रविधि अपनाउने बताएको छ ।

एमालेले आफ्नो गाउँ आफै बनाउँ अभियानलाई तिव्र गतिमा अघि बढाउने प्रतिबद्घता व्यक्त गरेको छ । त्यसै गरी १० बर्षभित्र गरिबी निवारण गर्ने, राष्ट्रको स्वाभिमानलाई कायम राख्दै कुटनीतिक सम्बन्ध विस्तार गर्ने लगायतका समाज सुधारका कार्यक्रमलाई पनि एमालेले घोषणापत्रमा महत्वपूर्ण स्थान दिएको छ ।