अत्तरीया कपको तयारी अन्तिम चरणमा

सिताराम अाेझा / धनगढी, १८ वैशाख । आगामी वैशाख २१ गतेदेखि २६ गतेसम्म अत्तरियामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

युनाईटेड अत्तरीया स्पोर्टस क्लबको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिने भएका छन् । धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले खेल तालिका समेत सार्वजनिक गरेको छ ।

जेठ २१ गतेदेखि हुने महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको लागि मैदान लगायतका अन्य तयारीहरु लगभग सकिएको आयोजक क्लबका अध्यक्ष रवि खनालले जानकारी दिए । अत्तरियास्थित एपीएफको क्रिकेट मैदानमा हुने प्रतियोगिताको मुख्य प्रायोजक ‘रुस्लान’ हुने भएको छ ।

प्रतियोगितामा भाग लिने ६ वटै टोलीहरुलाई दुई समुहमा विभाजन गरी खेल तालिका पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । समुह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली रहेको छ । समुह ‘वी’ मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाण्डौ र बारा क्रिकेट एकेडेमी रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टीम एपिएफ र मिलन क्रिकेट एकेडेमी झापा भिड्ने भएका छन् । उद्घाटन र समापनको दिन बाहेक अन्य दिनमा दुई वटा खेल हुने भएको छ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा खेलाइने छ । लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

‘ए’ समुहको विजेताले वी समुहको उपविजेता तथा ‘वी’ समुहको विजेताले ‘ए’ को उपविजेतासँग सेमिफाईनलमा फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक क्लबका उपाध्यक्ष सरोज भट्टले जानकारी दिए ।

प्रतियोगितको विजेताले उपाधि सहित २ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उप विजेताले १ लाख हात पार्नेछ । प्लेयर अफ दी सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट वलिङ पर्फर्मेन्स र विकेट किपरलाई समान १०–१० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै हरेक खेलको ‘प्लेयर अफ दी म्याच’ ले ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बतायो ।