August 24, 2017

प्रधानन्यायाधीशलाई कार्यकारी अधिकारमा हस्तक्षेप गर्ने छुट छैनः कांग्रेस

काठमाण्डौ, १८ वैशाख । नेपाली कांग्रेसले प्रधानन्यायाशीध सुशीला कार्कीले सरकारको कार्यकारी अधिकारमा हस्तक्षेप गर्न लागेपछि महाभियोग प्रस्ताव दर्ता गर्नुपरेको जनाएको छ ।

नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा सोमबार गरेको पत्रकार सम्मेलनमा प्रचार समितिका संयोजक एवम् भौतिक यातायात तथा पूर्वाधार मन्त्री रमेश लेखकले पछिल्लो समयमा प्रधानन्यायाधीशले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत न्यायपालिकाको मर्यादा नाघेर कार्यपालिकामा हस्तक्षेप गर्ने काम गरेकाले महाभियोगको प्रस्ताव दर्ता गर्नु परेको बताए ।

देशको प्रशासन सञ्चालनको जिम्मेवारी अधिकार सरकारलाई दिएको भए पनि त्यसलाई हस्तक्षेप गरेर आफैं कार्यकारी हुन खोजेको कांग्रेसको आरोप छ । लेखकले न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन महाभियोग प्रस्ताव दर्ता गर्नुपरेको भन्दै अदालतमाथि जनताको विश्वसनीयता कायम राख्न जरुरी रहेको बताए ।

त्यस्तै स्थानीय निर्वाचनका लागि प्रदेश नम्बर ६ मा नेपाली कांग्रेसले सर्वसम्मत रुपमा उम्मेदवार छनोट भएको जनाएको छ । नेता कृष्णप्रसाद सिटौलाले ६ नम्बरमा कुनै समस्या नआएको बताउँदै ३ र ४ मा चाहिँ हल्का समस्या रहेको बताउँदै वैशाख ३१ गते निर्वाचन हुँदैन भन्ने कुरा नगर्नको लागि समेत आग्रह गरे ।

पत्रकार सम्मेलनमा कांग्रेस नेताहरुले पहिलो चरणको निर्वाचनपछि मात्रै बजेट ल्याउने बारेमा छलफल भइरहेको समेत जानकारी दिए ।