पूर्व सांसद मिना शाही जग्गा दलालीको फन्दामा

काठमाण्डौ, १८ वैशाख । कीर्तिपुरको चाल्नाखेलमा रहेको ५ आना १ पैसा ३ दामको जग्गा देखाएर १० लाख रुपैयाँ आफूलाई जग्गा दलालले ठगेको पूर्वसांसद तथा पीडित मिना शाहीले बताएकी छिन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित शाहीले आफूलाई जग्गा दलाल जिवासी राई र रिया श्रेष्ठले उर्मिला श्रेष्ठलाई जग्गा धनीको रुपमा देखाएर १० लाख रुपैयाँ ठगेको आरोप लगाएकी छिन् । पीडित शाहीले आफू अन्यायमा परेको गुनासो गर्दै भनिन्, ‘हाम्रो देशमा गरिबको लागि कानून छैन्, पार्टीको आडमा दलाली बढेको छ, पक्राउ पर्दै दलाल छुट्दै गरेका छन्, दोषीलाई कारबाही हुनुपर्छ ।’

दलाल रिया श्रेष्ठले आफूलाई दिदी बनाएर प्रलोभनमा पारी ठगी गरेको शाहीले आरोप लगाइन् । नेकपा एमालेको तर्फबाट (२०६४) समानुपातिक तर्फकी पूर्व सांसद समेत रहेकी पीडित शाहीले राजनीतिक दलका मुख्य नेताहरू नै दलालको पक्षमा उभिएर कानूनको मर्यादा उल्लंघन गरेको आरोप लगाएकी छिन् ।