October 22, 2017

सरकार र चिकित्सक संघबीच चार बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाण्डौ, १३ असोज । सरकारसंग ४ वुँदे सहमति भएपछि नेपाल चिकित्सक संघले देशव्यापी हडताल शुक्रवारबाट फिर्ता लिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको रोहबरमा चिकित्सक संघ र सरकारी पक्षबीच शुक्रबार बालुवाटारमा वार्ता भएको थियो । वार्तामा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाविरुद्ध आक्रमण र दुर्व्यवहार गर्नेमाथि कडा कारबाही गर्ने गरी कानून संशोधन गर्ने सहमति भएको छ ।

चिकित्सकहरुको मागअनुसार यसअघि नै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ संशोधन गर्ने प्रतिवद्धता जनाएको थियो ।

सहमति पत्रमा सरकारका तर्फबाट स्वास्थ्य सचिव डा. किरण रेग्मी र संघका तर्फबाट अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ संशोधन गरी कडा सजाय गर्न ऐन कार्यान्वयन गर्ने सहमति भएको हो ।

यस्तै चिकित्सकहरूको सेवा निवृत्त हुने उमेर ६५ वर्ष गर्न प्रकृया अघि बढाउने, विरामीबाट लिंदै आएको ५ प्रतिशत कर हटाउन प्रकृया शुरू गर्ने, स्वास्थ्य क्षेत्रकै व्यक्ति स्वास्थ्य सचिव हुनेलगायतका मागमा सरकारले पहल गर्ने सहमति भएको डा कार्कीले जानकारी दिए ।

संघको आब्हानमा आठ दिनदेखि मुलुकभरिका निजी, सरकारीलगायतका सबै स्वास्थ्य संस्थामा आकस्मिक वाहेकको अन्य सेवा ठप्प थियो।