महाअभियोग बारे माअाेवादी केन्द्रको धारणा यस्तो छ

काठमाण्डौ, १८ वैशाख । सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेकपा माओवादी केन्द्रले कार्यपालिका र व्यवस्थापिकाको कार्यक्षेत्रमाथि ठाडो हस्तक्षेप गरेकाले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएको बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले आईजीपी नियुक्ति प्रकरण सतहमा देखिए पनि प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग लगाउनुमा कार्यपालिका र न्यायापालिकामाथिको ठाडो हस्तक्षेप मुख्य कारण रहेको जनाएको हो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यपालिका र न्यायपालिकामाथि निरन्तर हस्तक्षेप हुँदै गएपछि अभियोग प्रस्ताव दर्ता गर्नुपरेको जानकारी गराएका थिए । कार्यपालिका र व्यवस्थापिकामाथि निरन्तर हस्तक्षेप गर्दै परिवर्तनलाई समेत आत्मासात नगर्ने प्रवृत्ति देखिएपछि प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग लगाउनु परेको पार्टीकी प्रवक्ता पम्फा भुसालले बताइन् ।

बैठकले प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग लगाएर सरकारले संसद विघटन गर्न खोजेको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि स्पष्ट पारेको छ । सत्तारुढ दुई ठूला दल कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ जना सांसदहरुले कार्यपालिकामाथि हस्तक्षेप गरेको लगायतका ८ बुँदे अभियोग लगाउँदै प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आईतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको थियो ।