विपद् जोखिम न्यूनीकरण विधेयक २०७४ पारित

काठमाण्डाै, ९ असाेज । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७४ ’लाई व्यवस्थापिका संसद सर्वसम्मतिले पारित गरेको छ ।

संसदको सोमबारको बैठकमा गृहमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदन समक्ष राखेका थिए । यसअधि सो विधेयकको दफावार छलफलमा भाग लिदै नेकपा एमालेका नेता डा. गंगालाल तुलाधरले विधेयकलाई कार्यान्वयन पक्ष बलियो बनाउन विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण बनाउनुपर्ने सुझाव दिए ।

नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे र सीता नेपालीले संघीयताको मर्मअनुरुप विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र बनाउनुपर्नेमा जोड दिए । गृहमन्त्री शर्माले छलफलमा उठेका प्रश्नको जवाफमा प्राकृतिक जोखिममा नेपाल रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण गर्न विधेयक आएको बताए ।

उनले विपद्पूर्व र विवपद्का समयका क्षति न्यूनीकरण गर्न विधेयक आएको चर्चा गर्दै प्राकृतिक तथा गैरप्राकृतिक विपद् व्यवस्थापन गर्न परिभाषा स्पष्ट पारिएको र संघीयताको मर्मअनुरुप नै विधेयक आएको धारणा राखे ।