शुक्रबारदेखि स्थगित राजविराजकाे मतगणना अझै सुचारु भएन, निर्वाचन अधिकारीहरुनै अन्यौलमा

दिनेश शर्मा / राजविराज, ७ असोज । मत परिणाम सम्वन्धि सुचना व्यवस्थित गर्न नसक्दा अन्ततः २ हजार भोट गणना गरिनसक्दै राजविराज नगरपालिकाको मतगणना स्थगित भएको छ ।

शुक्रवार राती ११ वजेदेखि रोकिएको मतगणना शनिवार साँझसम्म पनि सुरु हुन सकेको छैन । वडा नम्बर १ को मतगणना जारी नै रहँदा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामसँग उम्मेदवारका प्रतिनिधिले राखेको मतपरिणाम दुरुस्त नभएपछि विवाद भएर मत गणना रोकिएको हो ।

दलका प्रतिनिधि तथा कार्यकर्ताहरुले भने एक पटक सार्वजनिक गरेको मत परिणाम अर्को पटक झन घटेर आएपछि विवाद उत्पन्न भएको वताएका छन् ।

मुख्य निर्वाचन अधिकृत समेत रहेका राजविराज नगरपालिकाका निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले सुचना टास गरि अर्को सुचना नभए सम्मका लागि मतगणना स्थगित गरेको जनाएका छन् ।

मतगणना रोएिपछि मुख्य निर्वाचन अधिकृत लगायतका कर्मचारी मतगणना स्थलमा छैनन् । मतगणना स्थल राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा अहिले कडा सुरक्षाकाबीच मतपेटिकाहरु राखिएको छ ।

मतगणना सुरु हुने÷नहुने विषयमा अन्यौता सुरु भएको छ भने मतगणना स्थल वरपर ठुलो संख्यामा सर्वसाधारण र दलका कार्यकर्ताको भिड लागेको छ । तर मतगणना कति बेला सुरु हुने भन्ने विषयमा कसैले पनि जानकारी दिएका छैनन् ।

जिल्ला निर्वाचन अधिकृत महेश ठाकुरले भने आफनो काम ब्यवस्थापनको मात्रै भएकोले मतगणना सुरु हुने/नहुने विषयमा मुख्य निर्वाचन अधिकृतले नै जवाफ दिने वताएका छन् ।

उनले भने–‘हाम्रो काम भनेको निर्वाचन र मतगणनाको ब्यवस्थापन पक्ष हो, निर्वाचन र गणनाका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै टुङ्गो लगाउँछ ।’

राजविराज १५ मा राजपाका वडा अध्यक्ष उम्मेदवारको मृत्यु भएका कारण ३/४ दिनसम्म रोकिएको राजविराज नगरपालिकाको मतगणना पुनः रोकिएपछि सर्वसाधारण भने अन्यौलमा  परेका छन् । राजविराज १५ मा असोज ५ गते पुनः निर्वाचनपछि सोहि रातीदेखि मतगणना शुरु गरिएको थियो ।