November 19, 2017

भोलि हुने चुनावमा ढुक्क भएर मतदान गर्न निर्वाचन अायोगकाे अाग्रह

काठमाण्डौ १ असार ।  निर्वाचन आयोगले सोमबार हुने प्रदेश नम्बर २ को निर्वाचनमा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई अपिल गरेको छ ।

आयोगले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे प्रदेश २ का ८ जिल्लामा हुने तेस्रो चरणमा स्थानीय तहको निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको भन्दै मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो ।

कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले प्रदान गर्न आयोगले सबै मतदातालाई आह्वान गरेको छ ।

प्रदेश नम्बर २ मा सोमबार हुने स्थानीय तह चुनावको सबै तयारी पूरा भइसकेको प्रमुख आयुक्त अयोधी प्रसाद यादवले बताए  । निर्वाचन सम्पन्न गराउन दुई हजार १ सय ६६ मतदान स्थलमा तीन हजार ५ सय ७८ मतदान केन्द्र निर्धारण गरिएको छ ।

मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ । तोकिएको मतदान स्थलमा आफ्नो कुनैपनि परिचय खुल्ने परिचय पत्र देखाई मतदान गर्न सकिने यादवले जानकारी दिए ।

पत्रकार सम्मेलनमा आयोगले ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको जनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, आमसञ्चार माध्यमलगायत सबै क्षेत्रबाट रचनात्मक सहयोग पाउने अपेक्षा आयोगले गरेको छ ।