September 26, 2017

मौन अवधिमा मधेशमा यसरी हुन्छ चलखेल

पर्सा, १ असोज । निर्वाचन कार्यक्रमअनुसार शुक्रबार मध्यरातदेखि नै प्रदेश २ मा मौन अवधि चलिरहेको छ ।

निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचार प्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने रोक लगाएको छ । तर निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रुपमा मत आफ्नो पक्षमा पार्ने कसरत भने चलिरहेको छ । यही अवधिमा अधिकांश चुनावी आँकलन उलटफेर हुने गरेको विगतको अनुभव छ ।

मधेसको चुनावमा मौन अवधिलाई स्थानीय जानकारहरु ‘कत्ल कि रात’ का रुपमा बुझ्ने गरेका छन् । प्रतिस्पर्धामा रहेका उम्मेदवारले तटस्थ मत र विपन्न वस्तीका मतलाई खरिद गर्न सौदावाजी यही अवधिमा हुने गर्छ । अन्तिम अवस्थामा पनि नतिजा उलटपुलट हुन्छ मधेशमा । यही अवधिको कसरतले जित्ने पक्का भनिएको उम्मेदावरलाई पछारेर अर्को उम्मेदावर अघि बढेका र अप्रत्याशित परिणाम आएका उदाहरण थुप्रै छन् ।

यो खेल चुनावको अघिल्लो रात अझ तीव्र हुन्छ । जसलाई ‘कत्ल कि रात’ भनिन्छ । प्रदेश २ को एक मात्र महानगर वीरगन्जका मेयर उम्मेदवार अधिकांश पैसावाला भएकाले मौन अवधिमा विगतको भन्दा बढी रकमी चलखेल हुने जानकारहरु बताउँछन् । ‘तीनै जना पैसावाल उम्मेदवारबीच भिडन्त छ,’ एक राजनीतिक जानकार भन्छन्, ‘कत्ल कि रातमा जसले बढी खर्च गर्छ सायद उसैले मेयरको कुर्सी जित्छ ।’ मधेसको चुनावी अंकगणित मौन अवधिमै तय हुने गरेको ती जानकारले सुनाए ।

समुदायका अगुवाहरुले आफ्नो पकड क्षेत्रका मत अहिले पनि आफूले चाहेको उम्मेदवारका पक्षमा खसालिदिन सक्छन् । त्यस्ता मत हासिल गर्न उम्मेदवारले उनीहरुलाई निश्चित रकम दिन्छन् । अगुवाले कति मत प्रभावित पार्न सक्छन्, त्यसैका आधारमा मतदानको अघिल्लो एक/दुई दिनमा उसलाई एकमुष्ट रकम उपलब्ध गराउँछन् उम्मेदवारले ।

‘कतिपय अगुवाले पैसा लिएको उम्मेदवारको पक्षमा यकिन गरेर यति मत खसाल्न लगाउँछु भनेर लिखित रुपमै सकारेका हुन्छन्,’ एक राजनीतिकर्मी भन्छन्, ‘रकम लिए जति त्यस क्षेत्रबाट भोट नआउँदा निर्वाचनपछि पैसा फिर्ता माग्ने चलनसमेत छ ।’ आफूले नजित्ने देखेपछि प्रतिस्पधामा रहेको अर्का उम्मेदवारलाई प्रचारप्रसार खर्चमा केही रकम थप लिएर सघाउने चलन पनि छ । याे खबर कान्तिपुर दैनिक छ ।