November 18, 2017

अढाइ वर्षपछि सिंहदरबार पुनर्निर्माणको सुरसार, पुरानै इँटा र सुर्की प्रयोग हुने

काठमाडौ, १ असाेज । भूकम्पमा क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको ‘रेट्रोफिटिङ’ (प्रबलीकरण) प्रक्रिया अघि बढेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार तीन चरणमा सिंहदरबारको प्रबलीकरण सम्पन्न हुनेछ । पहिलो चरणमा भूकम्पबाट क्षति पुगेको भवनको सूक्ष्म अध्ययन हुनेछ । अध्ययन प्रभावकारी बनाउन प्राधिकरणले सिंहदरबार वरिपरि खट बाँध्ने काम सुरु गरिसकेको छ । अबको एक साताभित्र प्राधिकरणले अध्ययन टोली परिचालन गर्नेछ  सूक्ष्म अध्ययनका लागि डेढ महिनाको समय छुट्याइएको छ ।

अध्ययनपछि सिंहदरबारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेछ । प्रबलीकरणको यो दोस्रो चरण हो । यसका लागि साढे दुई महिनाको समय निर्धारण गरिएको छ । सूक्ष्म अध्ययन र डीपीआर तयार गर्न मात्रै दुई करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ। यसका लागि थप नौ महिना लाग्नेछ ।

सिंहदरबार प्रबलीकरणको सम्पूर्ण काम १३ महिनाभित्र सकिनेछ । प्राधिकरणका सहसचिव राजुमान मानन्धरले सिंहदरबारको प्रबलीकरणको काम अब नरोकिने बताए । ‘सिंहदरबार प्रबलीकरणको काम तीन चरणमा सम्पन्न हुन्छ । अबको १३ महिनाभित्र पुरानै शैलीमा बलियो र सुन्दर बन्नेछ,’ उनले भने ।

पुरानै इँटा र सुर्की प्रयोग हुने

प्राधिकरणका अनुसार सिंहदरबार प्रबलीकरणमा पुरानै इँटा प्रयोग गरिनेछ । इँटा जोड्न सिमेण्टको ठाउँमा सुर्कीको प्रयोग गरिनेछ । सिंहदरबारको बाहिरी आवरण पुरानै शैलीको हुनेछ । पर्खालको केही भागमा भने फलामको रड प्रयोग गरिने मानन्धरले बताए । तर, रड नदेखिने गरी विशेष प्रविधि अपनाएर जडान गरिनेछ । सिंहदरबारको भित्री सजावट पुरानै राजसी शैलीमा तयार गरिनेछ ।

दरबारको वाल र कोठामा विशेष खालको रंगरोगन गरिनेछ । ‘सिंहदरबार प्रबलीकरण गर्दा इँटा र सुर्की पुरानै प्रयोग हुनेछन् । साजसज्जा पनि पुरानै शैलीमा हुनेछ । यी सबै कामका लागि लाग्ने खर्च अहिले भन्न सकिने अवस्था छैन । डीपीआर तयार भएपछि मात्रै थाहा हुन्छ,’ उनले भने । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।