September 23, 2017

प्रदेश नं २ को निर्वाचनको सम्पूर्ण तयारी पुरा : गृहमन्त्री

काठमाडौं, ३१ भदौ । गृहमन्त्री जनार्दन शर्माले २ नम्बर प्रदेशमा असोज २ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री शर्माले सरकारले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको जनाउँदै मतदाताहरुको सुरक्षाको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरिएको पनि स्पष्ट पारे ।

उनले भने,‘आम मतदाताहरुको सुरक्षाको लागि सरकारले आवश्यक सुरक्षाको प्रबन्ध गरिसकेको छ, सुरक्षाकर्मीहरुलाई परिचालन गरिसकेको छ ।
मन्त्री शर्माले २ नम्बर प्रदेशका आम मतदाताहरु मत हाल्नको लागि उत्साहित रहेको बताउँदै भने,‘मतदाताहरु स्वयंले मोहोर लगाउन हामी आँतुर छौं भनेर भन्नुभएको छ, सरकारले सबै मतदान केन्द्रहरुमा शान्ति, निश्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरेको छ, यही अनुसार मतदान सम्पन्न हुन्छ।’ उनले निर्वाचन सुरक्षाको पहिलो आधार नै जनताहरुको उत्साह भएको स्पष्ट पारे ।

गृहमन्त्रालयले निर्वाचन सुरक्षाको लागि केन्द्रि सुरक्षा निति अनुसार नै जिल्ला स्तरमा सुरक्षा योजना कार्यान्वयन गरिसकेको र जस अनुसार पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाईएको मन्त्री शर्माले जानकारी दिए ।