September 23, 2017

यस कारण सुध्रिएन सामुदायिक विद्यालयको नतिजा

काठमाण्डौ,३१ भदाै । सामुदायिक विद्यालयको स्वीकृत एक लाख सात हजार दरबन्दीमा प्रतिस्पर्धाबाट शिक्षक छनोट भइदिएको भए गुणस्तरको प्रश्न सायदै उठ्थ्यो ।

किनभने शिक्षक सेवा आयोगको लिखित र मौखिक परीक्षा उत्तीर्ण नभई शिक्षक हुनै पाइदैनथ्यो । प्रतिस्पर्धाका आधारमा जसको बढी नम्बर आयो, उसैलाई सिफारिस गरिन्थ्यो । एक लाख सात हजार दरबन्दीमध्ये ३० हजार एक सय १२ शिक्षकले मात्रै आयोगको परीक्षा पास गरेका छन् । २६ हजार एक सय ५१ अस्थायी शिक्षक छन् ।

अन्य ५० हजार सात सय ३७ शिक्षक विभिन्न तरिकाबाट स्थायी भए हुन् । ०४८ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा एक वर्ष काम गरेका करिब २० हजार अस्थायी शिक्षक स्थायी भएका थिए । सामुदायिक विद्यालयमामा जति लगानी भए पनि नतिजा राम्रो नआनुको कारण स्तरीय शिक्षक नहुनु हो ।

‘जति स्वीकृत दरबन्दी छ, त्यसमा आयोगले लिएको परीक्षाबाट सिफारिस भएका मात्रै शिक्षक बन्ने हो भने गुणस्तरले फड्का् मार्न सक्छ’, आयोगका अध्यक्ष ताना गौतमले भने, ‘ अहिले जति पुगेका छन्, तिनबाट पनि सुधारको छनक त देखिएको छ ।’

कक्षा १० को एसईई परीक्षाको नतिजा र शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर केन्द्र (ईआरओ) को नतिजा सार्वजजिक भएपछि हरेक वर्ष सामुदायिक विद्यालयको गुणस्तरको प्रश्न उठ्ने गरेको छ । ईआरको पछिल्लो नतिजाअनुसार यस्ता विद्यालयको सिकाइ उपलब्धि ४६  पनि कटेको छैन ।

कक्षा ३ मा नेपाली विषयको सिकाइ उपलब्धि निजी विद्यालयमा औसत ६७ छ भने सामुदायिकको ४६ मात्रै छ। गणितमा निजीको ५४ हुँदा सामुदायिकमा ४१ मात्रै छ। कक्षा ५ मापनि कक्षा ३ कै जस्तो हालत छ । गणितमा निजी विद्यालयको सिकाइ उपलब्धि औसत ६१ हुँदा सामुदायिकमा ४५ मात्रै छ ।

नेपालीमा पनि निजीकै विद्यार्थीको सिकाइ राम्रो छ। निजीको उपलब्धि ६७ हुँदा सामुदायिक विद्यालयका विद्यार्थीको नेपाली विषयमा ४३ मात्रै छ । याे खबर कान्तिपुर दैनिकमा छ ।