November 17, 2017

वीरगंजकाे विकास र समृद्धिमा कांग्रेस प्रतिवद्द : देउवा

राम कुशवाहा/वीरगंज ३० भदाै । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रजातन्त्रको विगुल फुक्ने वीरगंजको इतिहासलाई जिवन्त राख्दै यसको विकास र सम्बृद्धिका लागि कांग्रेस प्रतिबद्ध रहेको बताएका छन ।

नेपाली कांग्रेस पर्साद्वारा आज वीरगंजमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हरेक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरि रहेको र आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने जिम्मा समेत नेपाली कांग्रेसको काँधमा रहेको बताए ।

उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्दै मधेशमा जन्मिएको कांग्रेस मधेशको सम्बृद्धि र विकासका लागि निरन्तर लागि रहेकाे बताए । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशको पक्षमा निरन्तर लागि रहने नेपाली कांग्रेसलाई मधेशी जनताले एक नम्बर पार्टी बनाएर पठाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मधेशी विरोधी शक्तिलाई जनताले चिनेको र आउदो निर्वाचनमा त्यस्तालाई जनताले पाखा लगाउने दावी गरे । त्यसैगरी नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधीले मधेशका मुद्दालाई संविधान संशोधन मार्फत जसरी पनि पारित गराएरै छाडने बताए ।