आजबाट भक्तपुरमा दशैं मेला सुरु

भक्तपुर, ३० भदौ । नेपालीहरूकाे महान चाड दशैंको अवसरमा आजबाट भक्तपुरमा  दशैं मेला सुरु भएको छ ।

सल्लाघारी मैदानमा सुुरु भएको मेलाकाे विज्ञान तथा प्रविधि मन्त्री दिपक बोहोराले उद्घाटन गरेका हुन् । चन्द्र सूर्य इभेन्ट प्रा.लि.ले आयोजना गरेको मेला असोज ५ गतेसम्म संचालन हुनेछ । मेलामा भक्तपुरको कला संस्कृतिका साथै स्थानीय उत्पादनदेखि विभिन्न स्वदेसी तथा विदेसी उत्पादनहरु रहेका छन् ।

यस्तै  सांस्कृतिक झाँकि प्रहसन का साथै मेला अवधिभर नेपालका चर्चित गायक गायिकाका साथै हाँस्य कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गर्ने मेला संयोजक रोजिन मिश्रले बताए । उनले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको बताएका छन् ।

मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल रहेका छन् । मेलामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका र पर्यटन प्रवर्धन गर्ने खालका समाग्री प्रदर्शनमा राखिएका छन् । मेलामा विद्यार्थीको लागी प्रवेश शुल्क ३० र अन्य सर्वसाधारणको लागि ५० रुपैँया तोकिएको छ ।

जेष्ठ नागरिक र पाँच बर्ष मूनिको हकमा निःशुल्क प्रवेशको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । उक्त मेलामा काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे लगायतकाले अवलोकन गर्ने आयोजकले जनाएको छ । करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने तथा २५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । मेलामा १ सय १३ स्टल रहेका छन् ।