थवाङ गाउँपालिका अध्यक्ष घर्ती अपहरित

रोल्पा, ३० भदौ । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’ अपहरणमा परेका छन्  ।

थवाङ गाउँपालिका–२ कोइचबाङ स्थित ससुरालीमा बिहीबार राति खाना खाएर शौचालय निस्कनुभएका अध्यक्ष घर्तीलार्इ अज्ञात समूहले अपहरण गरेको हो । अहिले प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान टोलीले उनको खोजी गरीरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. डिजनभट्टराईले बताए ।

डिएसपी वीरेन्द्र थापा नेतृत्वको प्रहरी टोली अहिले थवाङ पुगेको छ । माओवादी केन्द्रका तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित घर्तीलाई कसले अपहरण गर्‍यो भन्ने खुल्न सकेको छैन ।

अपहरणकारी को हो भन्ने एकीन नभए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार उद्घाटन गर्ने भनी तय गरिएको थवाङ गाउँपालिकाको गाउँसभालाई प्रभावित पार्ने गरी विप्लव समूहले अपहरण गरेको हुन सक्ने माओवादी केन्द्रको अनुमान ।