September 21, 2017

उत्तर कोरियाद्वारा जापानी आकाशमा फेरि अर्को मिसाइल प्रहार

काठमाण्डाै, ३० भदाै । उत्तर कोरियाले जापानको हकाइदो टापुको आकाशमाथि फेरी एउटा मिसाइल  प्रहार गरेकाे छ । दक्षिण कोरिया र जापानले उत्तर कोरियाले यसकाे पुष्टी गरेका छन् ।

राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्रले  ७ सय ७० किलोमिटरको उचारसम्म पुगेको र झण्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाका सेनाले जनाएकाे छ । पछिल्लो क्षेप्यास्त्र प्रहारपछि दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको छ ।

जापानले पनि आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । यसअघि साेही महिनाकाे १३ तारिखमा उत्तर कोरियाले जापानी आकाशमाथि मिसाइल  प्रहार गरेकाे थियाै ।

उत्तरले गएको हप्ता मात्र एक शक्तिशाली हाइड्रोजन बम नै परीक्षण गरेको बताएपछि सुरक्षा परिषद्ले दण्डित गर्ने भन्दै उत्तर कोरियाविरुद्ध सर्वसम्मतिले नयाँ प्रतिबन्धहरु पारित गरेको थियो ।

अमेरिकाको प्रस्तावमा उत्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीलाई उसले दुष्ट कामको संज्ञा दिएको थियो । उत्तर कोरियाले एक दिन अघिमात्र आफूमाथि नयाँ प्रतिवन्ध लगाउने प्रस्तावको समर्थन गरेको भन्दै जापानलाई डुबाउने र अमेरिकालाई अंध्यारोमा धकेल्ने चेतावनी दिएको थियो ।

यसै अनुरुप शुक्रबार पनि जापानमा लक्षित गर्दै उसले मिसाइल छाडेको छ । संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बावजुद उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ।