September 25, 2017

म्याद सकिन लागेका सांसदमार्फत चुनावको मुखमा १० अर्ब बाँडिदै

काठमाण्डौ,२९ भदाै । सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ । प्रतिनिधिसभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ । तर, यतिबेला सरकारले म्याद सकिन लागेका सांसदहरुमार्फत अर्बौं रुपैयाँका योजना निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी प्रतिनिधिसभा चुनावलाई प्रत्यक्ष प्रभाव पार्ने गरी रुपान्तरित सांसदका ५ सय ९१ सांसदले निर्वाचन क्षेत्र विकास र पूर्वाधार विशेष कार्यक्रमका नाममा पदावधि सकिनुअघि नै सबै निर्वाचन क्षेत्रमा सवा चार करोड रुपैयाँका दरले खर्च गर्न पाउने गरी रकम बाँड्न दिने निर्णय गरेको छ ।

प्रतिनिधिसभा चुनावको मुखमा  सांसदहरुले त्यति ठूलो रकमको योजना बाँडेर खर्च गर्न पाउँदा मतदाता प्रभावित हुने भएकाले निर्वाचन परिणाममा प्रत्यक्ष/अप्रत्यक्ष असर पर्ने र त्यसबाट निर्वाचन आचारसंहिता उल्लंघन हुने चिन्ता निर्वाचन आयोगका अधिकारीहरुको छ। आगामी प्रतिनिधिसभा चुनावमा यिनै बहालवाला सांसदहरु नै उम्मेदवार हुने सम्भावना बढी छ ।

ती अधिकारीका अनुसार त्यति रकम बाँडेका सांसदहरुलाई आगामी चुनावमा नयाँ उम्मेदवारसँग प्रतिस्पर्धा गर्न सहज हुनेछ। आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले त्यसरी योजना कार्यान्वयन गर्न लागिएको भए निर्वाचन आचारसंहिताविपरीत हुने बताए । याे खबर कान्तिपुर दैनिकमा छ ।