माओवादीले मधेशमा चुनाव नजिते मधेशले पाएको उपलब्धि गुम्ने खतरा : प्रचण्ड

जागेश्वर यादव/ सिरहा, भदौ २८ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो पार्टीले मधेशमा चुनाव नजिते मधेशले पाएको उपलब्धि समेत गुम्न सक्ने खतरा रहेको बताएका छन ।

सिरहाको धनगढीमाई नगरपालिका, धनगढी बजारमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयता, समावेशीता, धर्मनिरपेक्षता केवल माओवादीको त्याग र बलिदानीबाट मात्र प्राप्त भएकोले त्यसलाई संस्थागत माओवादीले मात्र गर्न सक्ने बताए ।

संघीयता विरोधी, समावेशीता विरोधी र धर्मनिरपेक्षता विरोधी पार्टीलाई मत दिएर ठूलो बनाई नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धिहरु उल्टिने र पुनः ०४६ र ०४७ साल फर्किने खतरा रहेको  प्रचण्डकाे भनाई छ ।
प्रचण्डले‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता ल्याउने परिवर्तनकारी माओवादीलाई मत दिने कि संघीयता विरोधी, समावेशीता विरोधी पार्टीलाई मत दिने हो, त्यसको साँचो अहिले मधेशी जनताको हातमा आएको छ, त्यसले यसलाई सही ढंगबाट सदुपयोग गर्न आग्रह गरे ।

आफू दश महिना प्रधानमन्त्री रहेका बेला मधेशलाई विश्वासमा लिन र जायज माग सम्बोधन गर्न धेरै मेहनत गरेको बताउदै अध्यक्ष प्रचण्डले मधेशी जनताको भावनाको सम्बोधन गर्नुका साथै मधेशी दलको असन्तुष्टि सम्बोधन गर्न र चुनावमा ल्याउन ठूलो भूमिका निर्वाह गरेको दावी गरे।
तराई, पहाड र हिमाललाई जोडेर राष्ट्रिय विकासलाई अगाडि बढाउन आफूले गरेको प्रयासको परिणाम राम्रो आएको ठोकुवा गर्दै प्रचण्डले मधेशी जनता आफूप्रति संवेदनशील रहेको बताए ।