August 23, 2017

तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता २०७४ आयोजना हुने

लाेकेन्द्र विष्ट/ काठमाण्डौ, १७ वैशाख । आगामी जेष्ठ ४, ५ र ६ गते सितोरियो कराँतेको विकास, खेलाडीको विकास गर्ने र अरु राष्ट्रँंग भाइचाराको सम्बन्ध राख्ने उद्देश्यले “खेलकुद स्वस्थ्यको लागि, खेलाडी राष्ट्रको लागि” भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता २०७४ आयोजना हुने भएको छ ।

शाखा डोजो सामाखुशीको आयोजनामा हुने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान र भुटानका खेलाडीले सहभागिता जनाउने छन् । नेपालबाट ३ सय, भारतबाट २ सय, बंगलादेशबाट ७, श्रीलंकाबाट १२, पाकिस्तानबाट ५ र भुटानबाट १० हुनेछन् । सो प्रतियोगितामा ५२७ जना खेलाडीहरु सहभागी हुने अनुमान गरिएको छ ।

अफिसियल कराँते तर्फ २२ इभेन्ट र काता तर्फ ४ इभेन्ट हुनेछ । कुल २६ स्वर्णका लागि खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता लैनचैरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतियोगितामा कुल खर्च रु. १५ लाख ९ हजार ५ सय लाग्ने अनुमान गरिएको छ । उक्त रकम आयोजक डोजोले नै ब्यहोर्ने जानकारी शाखा प्रमुख तथा प्रशिक्षक राजेन्द्र कुमार ओझाले दिए ।