September 25, 2017

देउवा,पौडेल र कोइराला आजदेखि २ नं प्रदेशकाे चुनावी प्रचारमा

ललितपुर, २७ भदौ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालाले आजदेखि प्रदेश नं २ का आठ वटै जिल्लाका चुनावी सभाहरुलाई संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन् ।

पार्टी सभापति देउवा आज २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भाद्र ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल भने निर्वाचन परिचालनका लागि सोमबार नै लहान पुगिसकेका कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवा, पौडेल र कोइरालाले आज दिउसो १ बजे सप्तरीको राजविराजमा हुने आमसभालाई संबोधन गर्ने भएका छन् । सप्तरीको संबोधन एवम् पार्टी कार्यकर्तासंगको भेटघाट पछि सिरहा प्रस्थान गर्ने कार्यक्रम छ ।

उनिहरूले अाजै हुने सिरहाको जिरोमाइलमा विशाल चुनावीआमसभालाई पनि संयुक्त रुपमा संबोधन गर्ने कार्यक्रम छ । अपरान्ह ४ बजे सो आमसभालाई सम्बोधन गरेर पार्टी कार्यकर्ताहरु संग भेटघाटपछि  प्रधानमन्त्री देउवा सहित कांग्रेसका शीर्ष नेताहरु जनकपुर प्रस्थान गर्नेछन् ।

सभापति, वरिष्ठ नेता र महामन्त्री सहित केन्द्रीय नेताहरुले २८ गते महोत्तरीको सदरमुकाम जलेश्वरमा बिहान ९ बजे  हुने चुनावी सभालाई संबोधन गर्ने कार्यक्रम छ । साेही दिन दिउसो १ बजे जनकपुर धाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने छन्। जनकपुरको संबोधन पछि कांग्रेसको शीर्ष नेताहरुको टोली महोत्तरीको बर्दिवासमा अपरान्ह ४ बजे चुनावी सभालाई संबोधन गर्ने छन् ।

२९ गते पार्टी सभापति  देउवा, पौडेल र कोइरालाले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गरे र अपरान्ह ४ बजे रौतहटको गौरमा हुने आमसभालाई संबोधनगर्ने छन् । रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि नेपाली कांग्रेसको शीर्ष नेतृत्व वीरगञ्ज प्रस्थान गर्ने कार्यक्रम छ ।

३० गते उनिहरू दिउसो १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई संबोधन गर्ने छन् । शीर्ष नेताहरुले सोही दिन पर्साको बीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।

मधेश विरोधी एमाले र एकापसमा मिल्न नसक्ने र मधेशी जनताको नाममा पारिवारिक रजाँइ गरिरहेको तरार्इ केन्द्रित साम्प्रदायिक राजनीतिक दलहरुले प्रचार अभियानलाई गतिदिन नसकेको अवस्थामा राष्टिय अखण्डता,एकता र सम्पन्न तथा विकसित मधेशको कार्यक्रम सहित हुने कांग्रेसका शीर्ष नेताहरुको आगमनले प्रदेश नं २ मा अध्यधिक सीट सहित पहिलो पार्टी बनाउने कांग्रेसकाे दावी छ ।