उत्तर कोरियामाथि राष्ट्रसंघको थप प्रतिबन्ध

काठमाण्डाै, २७  भदौ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

उत्तर कोरियाले केही दिनअघि मात्रै हाडड्रोजन बमको सफल परीक्षण गरेको बताएपछि उसमाथि नयाँ कडा प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्तावमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल भएको थियो।

अमेरिकाको पहलमा तयार भएको नयाँ प्रतिबन्धको प्रस्तावमा सुरुमा चीन र रुसले सहमति जनाएका थिएनन् । तर अन्ततः चीन र रुसले पनि साे प्रस्तावको पक्षमा भोट गरेपछि उत्तर कोरियामाथि प्रतिबन्ध थप कडा पार्ने सम्बन्धी प्रस्ताव १५–० ले पारित भएको हो ।

नयाँ प्रतिबन्ध अनुसार अब उत्तर कोरियाबाट कोइला, लिड तथा सि फुड निर्यात बन्द गरिने छ । सुरुमा उत्तर कोरियामा इन्धन (तेल) पठाउन बन्द गर्ने तथा नेता किम जोङ–उनको सम्पत्ति फ्रिज गर्ने प्रस्ताव गरिएको थियो । तर चीन र रुसको आपत्तिपछि यसलाई हटाइएको छ ।

परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियाले यसअघि पनि संयुक्त राष्ट्रसंघको प्रतिबन्ध खेप्दै आएको छ । नयाँ प्रतिबन्धले उत्तर कोरियालाई थप समस्या हुने र यसले उसको परमाणु कार्यक्रम रोक्न सहयोग गर्ने विश्लेषण गरिएको छ ।