September 25, 2017

मन्त्रिपरिषदको ‘औचित्यहीन’ विस्तार, देउवा मन्त्रिपरिषद् ५४ सदस्यीय पुग्यो

काठमाण्डौ,२६ भदाै । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनकै मुखमा मन्त्रिपरिषदको ‘औचित्यहीन’ विस्तार गरेका छन् ।

उनले ५० जनाको मन्त्रिपरिषद्लाई बढाएर आइतबार ५४ सदस्यीय बनाएका हुन् । राप्रपासँग अलग्गिएर बनेको राप्रपा (प्रजातान्त्रिक) बाट तीन मन्त्री र एक राज्यमन्त्री उनले थपेका हुन् । देउवाले २०५२ सालमा आफैंले बनाएको ४८ सदस्यीय ‘जम्बो मन्त्रिपरिषद्’ को रेकर्डलाई आफैंले तोडेका छन् ।

थपिएकामा दीपक बोहरालाई विज्ञान तथा प्रविधि, सुनील थापालाई उद्योग र विक्रम पाण्डेलाई वनमन्त्रीको जिम्मेवारी तोकिएको छ भने रेशम लामालाई उद्योग राज्यमन्त्री बनाइएको छ । यो विस्तारसँगै देउवा मन्त्रिपरिषद्मा मन्त्री ३० र राज्यमन्त्री २३ पुगेका छन् । निर्वाचन आयोगले नियुक्ति र सरुवा रोकी भदौ १५ देखि निर्वाचन आचारसंहितासमेत लगाइसकेको छ ।

कर्मचारी सरुवामा आचारसंहिता उल्लंघन भएको भन्दै आपत्ति जनाउने आयोग मन्त्रिपरिषद्मा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त हुँदा भने मौन छ । मन्त्रिपरिषद् विस्तारको जानकारी प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालय शीतल निवासमा गराइसकेको छ । सोमबार ११ बजेलाई नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम तय गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

राष्ट्रिय जनता पार्टीको समर्थनमा कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धनमा देउवा गत जेठ २४ गते प्रधानमन्त्री बनेका हुन्। त्यसमा राप्रपा (प्रजातान्त्रिक) समेत समाहित भएको हो । तीन महिनाको अवधिमा देउवाले आफ्नै मन्त्रिपरिषद् छैटौं पटक विस्तार गरेका हुन् । पछिल्लो पटक उनले भदौ ४ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

पूर्वमुख्य सचिव विमल कोइरालाले स्पष्ट बहुमतमा रहेको सत्ता गठबन्धनले साना दललाई सत्तामा ल्याउने नाउँमा मन्त्री थपिरहनु औचित्यहीन भएको टिप्पणी गरे । ‘औचित्यबिनाको मन्त्रिपरिषद् विस्तार गर्नु हुँदैन, यसले कांग्रेस र माओवादी केन्द्रको सत्ता गठबन्धनप्रति नकारात्मक सन्देशमात्र प्रवाह गर्छ,’ कोइरालाले भने ।

एकपछि अर्को चुनाव तयारीमा लाग्नुपर्ने बेला कांग्रेस–माओवादी केन्द्रको गठबन्धनले साना दललाई सरकारमा भित्र्याई मन्त्री थप्नुपर्ने औचित्य थिएन। सत्तारूढ गठबन्धनलाई चुनौती रहेको संविधान संशोधन विधेयक संसदबाट असफल भइसकेको छ । याे खबर कान्तिपुर दैनिकमा छ ।