मिस कोशी २०१७ को उपाधि प्रिया खड्कालार्इ

उद्धव घिमिरे / विराटनगर , २५ भदौ । करिजमेटिक एडभान्टेज एभरटाइजिङ्गको आयोजनामा विराटनगरमा सम्पन्न भएको करिजमेटिक मिस कोशी २०१७ को उपाधि प्रिया खड्काले जितेकी छन् ।

प्रतियोगिताको फस्ट रनरअप मोरङ कटहरीकी मोनिका देवकोटा घोषित भइन भने सेकेण्ड रनरअप मोरङ अमरदहकी बिना तामाङ्ग घोषित भएकी छन् । स्थानिय विरेन्द्र सभागृहमा सम्पन्न भएको फाइनल राउण्डमा लर्डबुद्ध कलेज विराटनगरमा अध्ययनरत विजेता खड्काले उपाधीसंगै नगद २५ हजार र विन्दावासीनी म्यूजिक कम्पनीबाट २ वटा म्यूजिक भिडीयोमा खेल्ने मौका पाएकी छन् ।

त्यसैगरी फष्ट रनरअप मोनिका र सेकेन्ड रनरअप बिनालेपनि उक्त म्यूजिक कम्पनीले उत्पादन गर्ने म्युजिक भिडियोहरुमा अभिनय गर्ने मौका पाउने भएका छन् । प्रतियोगिताको मुख्य निर्णायकमा गायक रामकृष्ण ढकाल रहेका थिए ।

त्यस्तै कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, उद्योग संगठन मोरङको अध्यक्ष मुकेश उपाध्याय, मोरङ व्यापार संघको अध्यक्ष एवं सांसद पवनकुमार सारडालगायतको सहभागीता रहेको थियो । प्रत्येक वर्ष हुँदै आएको प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने करिजमेटिक एडभरटाइजिङका चियरपर्सन अमलेस कर्णले जानकारी दिए ।