September 25, 2017

मेक्सिकोमा ८ रेक्टरको भूकम्प ,सुनामी आउन सक्ने चेतावनी

काठमाण्डाै, २३ भदाै । मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ ।

युएस जीओलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु पिजीजीपान शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चीममा रहेको र गहिराई ७० किलोमिटर रहेको जनाएको छ । भूकम्पको धक्का मेक्सिकोको राजधानीसम्म महशुस गरिएको थियो । राजधानीका घरहरु हल्लिएका थिए भने मानिसहरुको रोडमा भागाभाग भएको थियो ।

भूकम्पको धक्का करीव १ मिनेटसम्म महशुस गरिएको थियो । उक्त भूकम्पका कारण समुद्री छाल र हावा हुरीका अलवा सुनामी आउन सक्ने भन्दै मेक्सिको लगायत त्यस क्षेत्रका ग्वाटेमाला, एल साल्भाडोर, कोष्टारिका, निकारागुवा, पानामा र होण्डुरसमा समेत सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

भूकम्पका कारण  दुईजनाको मृत्यु भएको मेक्सिकोका आन्तरिक मामिला मन्त्रीले जनाएका छन् । मेक्सिकोको नागरिक रक्षा एजेन्सीले यो भूकम्प सन् १९८५ यताकै सबैभन्दा शक्तिशाली रहेको बताएको छ । सन् १९८५ मा गएको शक्तिशाली भूकम्पले हजारौंको मृत्यु भएको थियो भने ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको थियो।