राजनीतिक निकासकाे खोजीमा नेपाली कांग्रेस केन्द्रित

काठमाण्डौ १७ बैशाख । नेपाली कांग्रेसले संविधान संशोधन र आगामी निर्वाचनको विषयमा शिर्ष तहमा छलफल गरेकाे छ ।
काग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आईतबार काग्रेसका शिर्ष नेताहरुले संविधान संशोधनलाई अघि बढाउने बिषयमा छलफल गरेका हुन् ।

संविधान संशोधन गर्न नदिने एमालेको भनाई र संशोधन नभइ चुनावमा नजाने मधेस केन्द्रित दलहरुको अडानका बेला राजनीतिक निकासको खोजीमा काँग्रेसका शिर्ष नेताहरुबिच छलफल भएको हो ।

बैठकमा कांग्रेसका शिर्ष नेताहरुले संशोधन प्रस्तावलाई सदनबाट पारित गराई निर्वाचन गराउनका लागी अन्तिमसम्म पनि प्रयास गर्ने निर्णय गरेका छन् । बैठकमा स्थानीय तह चुनावको उम्मेदवार छनौट, संविधान संशोधन र संसद बैठकमा पार्टीको भूमिकाबारे छलफल भएको कांग्रेसका नेता बालकृष्ण खाडँले जानकारी दिए ।
अहिले संसदमा कायम संख्या ५९३ छ । त्यसको दुई तिहाई अर्थात ३९७ मत पक्षमा खसे संविधान संशोधन विधेयक पारित हुन्छ । तर, अहिले सत्तारुढ दलसँग ३९३ मत मात्र छ । सत्ता साझेदार कांग्रेसका शीर्ष नेताहरुले संसदको गतिरोध हटाउने र संविधान संशोधन गर्ने विषयमा शनिबार प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए ।