September 25, 2017

आँधीका कारण क्यारिबियनमा ६ जनाकाे मृत्यु, व्यापक धनजनको क्षति

काठमाण्डाै, २२ भदौ । समुद्री आँधी अर्माका कारण क्यारेवियनमा ६ जनाकाे ज्यान गएसंगै व्यापक धनजनको क्षति भएकाे  छ ।

उक्त शक्तिशाली आँधीले फ्रान्सको भूभाग पर्ने सेन्ट मार्टिनमा ६ जनाको ज्यान लिएको छ र सो क्षेत्र भग्नावशेषमा परिणत भएको अधिकारीहरुले जनाएका छन् ।

क्यारेवियन क्षेत्रमा रहेको फ्रान्सेली आइल्याण्ढ सेन्ट मार्टिन र सेन्ट बार्टसमा ठूलो मात्रामा भौतिक क्षति भएको फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले बताएका छन् ।  आँधीले बार्बुडा र एन्टिगुवका ९० प्रतिशत भवनमा क्षति पुर्‍याएको छ ।

क्याटेगोरी फाइभको आँधी अहिले नर्दन भिर्जिन आइल्याण्ड तर्फ गएको छ । क्याटेगोरी फाइभ आँधी सबैभन्दा बढी क्षति गर्ने आँधी हो । आपतकालिन सहयोगका प्रयासहरु बढी प्रभावित क्षेत्र सम्मको पहुँचमा देखिएका कठिनाई र सञ्चार सम्पर्कमा उत्पन्न जटिलताका कारण प्रभावित भइरहेका छन्।

सबैभन्दा शक्तिशाली अर्थात ‘क्याटेगोरी फाइभ’मा पर्ने उक्त आँधी भर्जिन आइलण्डबाट अघि बढिरहेको अमेरिकी राष्ट्रिय आँधी केन्द्रले जनाएको छ । एक दशकयताकै शक्तिशाली आँधीको सुरुको वेग २ सय ९५ किलोमिटर प्रतिघण्टा रहेको थियो ।