सिरहा कांग्रेस पार्टी कार्यालयमा खुकुरी हानाहान १० जना घाइते

जागेश्वर यादव/ लहान, २१ भदौ । उम्मेदवार छनौटको विवादले नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सिरहामा खुकुरी हानाहान हुदा १० जना घाइते भएका छन् ।

उम्मेदवारी पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट बनेका उपेन्द्र यादव पक्ष बीच खुकुरी हानाहान भएको हो । घाइते हुनेहरुमा नेपाली काग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ताहरु घाइते छन् ।

घाइतेहरुकाे जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले झडप स्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको बताए ।

सिरहा नगरपालिकामा नेपाली काग्रेसले मेयर पदमा डा. सुभाषचन्द्र यादवलाई उम्मेदवार बनाएको छ । उनी नेपाली काग्रेसका कोषाध्यक्ष सितादेवी यादवका छोरा हुन् ।