आज देखि सुर्यकुमार क्षेत्री मिडियाकप फुटसल प्रतियोगिता सुरु

काठमाडौ, १८ भदौ । पत्रकार तथा गितकार स्वर्गिय सुर्यकुमार क्षेत्रीको स्मृतिमा आज देखि मिडियाकप फुटसल प्रतियोगिता सुरु भएको छ ।

ललितपुरको भैसेपाटीमा रहेको गोलपोष्ट फुटसलमा सुरु भएको प्रतियोगिताको उद्घाटन नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले गरेका हुन् । दोस्रो पटक हुन लागेको प्रतियोगितामा विभिन्न दश ओटा संचार माध्यमहरुले भाग लिएको महासंघका उपाध्यक्ष दिलिप थापाले जानकारी दिए ।

पहिलो पटक गत बर्ष आयोजना गरिएको प्रतियोगिताबाट उठेको रकम पत्रकार क्षत्रीको छोराको अध्ययनका लागि सहयोग गरिएको र अहिले उठ्ने रकम अर्का पत्रकार संजयसन्तोषी राईको उपचारका लागि सहयोग गरिने उनले बताए । धनकुटाका अग्रज पत्रकार राईको मुटुको शल्यक्रिया आजै काठमाडौँको शिक्षण अस्पतालमा हुदैछ ।

प्रतियोगितामा प्रथम हुनेलाई पचास हजार र द्धतिय हुनेलाई २५ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । झण्डै डेढ दशक पत्रकारिता गरेका युवा पत्रकार क्षेत्रीको ब्रेन ट्युमरका कारण गत बर्ष बैशाखमा निधन भएको थियो ।

२०७१ मंसिरमा ब्रेन ट्युमर देखिएपछि क्षेत्रीको नेपाल र भारतमा उपचार भरिएपनि सफल हुन सकेको थिएन । स्याङजामा जन्मीएर पाल्पा, बुटवल हुदै काठमाडौलाई पत्रकारिताको कर्मथलो बनाएका क्षेत्री प्रेस युनियनका सचिव समेत हुनुहुन्थ्यो ।

क्षेत्री नेपाली सांगीतिक क्षेत्रमा स्थापित सर्जक पनि हुनुहुन्थ्यो । उनका धोका दिनेलाई के भनौ र खै‘.., धानको सिरौँला, औठी चिनो छ‘,लगाएतका गीतहरु अहिले पनि चर्चित छन् ।