September 25, 2017

भाइरल ज्वरो र सर्पदंशका बिरामी बढेसंगै भुईमै उपचार गर्न सुरु

दिनेश शर्मा / राजविराज, १४ भदौ । भाइरल ज्वरो र सर्पदंशका बिरामी बढेपछि राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा वेड अभाव हुँदा भुईमै बिरामीको उपचार सुरु गरिएको छ ।

हालैको बाढी तथा चर्को गर्मीका कारण जिल्लाभारी नै बिरामीको संख्या वृद्धि भएपछि अस्पतालमा बिरामीको चाप बढेको हो । बिरामीको चापका अनुपातमा वेड अभाव भएका कारण अधिकांशलाई भुईमै राखेर उपचार गराउनु परेको अस्पतालले जनाएको छ ।

बाढीपछि पछिल्लो समयमा बढेको गर्मीका कारण ज्वरो, झाडापखाला तथा सर्पदंशका बिरामी बढेसंगै भुईमा राखेर पनि उपचार गराउन समस्या भईरहेको अस्पतालका प्रमुख डा. दयाशंकरलाल कर्णले बताए । अस्पतालको ईमेरजेन्सी शाखामा २५ वटा मात्र वेड रहेको तर, हरेक दिन ज्वरोका बिरामी मात्रै ५० जनाभन्दा बढी आउने गरेको शाखा ईन्चार्ज रामकुमार दियालीले बताए ।

कुल १ सय वेड क्षमताकाे अस्पताल भनिएपनि हाल इमेरजेन्सी शाखा समेत गरी ७५ वेड मात्र उपलब्ध रहेका कारण उपचारमा समस्या भईरहेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु बताए ।

यस पटक सर्पदंशबाट जिल्लामा ३ जनाको मृत्यु भईसकेको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १२ की १९ वर्षीय सुनिताकुमारी पण्डित वडा नम्बर ६ का ६५ वर्षीय कामेश्वर साह र कृष्ण शवरण गाउँपालिका–५ निवासी मो.साविरका ३ वर्षीय छोरा साहिलकाे  सर्पदंशकै कारण मृत्यु भएको थियो । सर्पदंशका कारण दैनिक १०–१५ जनासम्म उपचारकालागि आउने गरेको अस्पताल श्रोतले जानकारी दिएको छ ।