सप्तरीमा सडक दुर्घटनामा बृद्धि

दिनेश शर्मा /राजविराज, १५ वैशाख । सप्तरीमा पछिल्लो समय सवारी दुर्घटनामा वृद्धि भएको छ । दुर्घटनाका कारण कतिपयले ज्यानै गुमाएका छन् भने कतिपय अंपाङ्ग र अंगभंग भएर वस्नु परेको छ । वैशाख पहिलो र दोश्रो साता मात्रै सप्तरीमा भएका २२ ओटा दुर्घटनामा परि ५ जनाले ज्यान गुमाएका छन. । घाईते हुनेको संख्या २४ पुगेको छ ।


यसैक्रममा गत आईतवार मात्रै पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कृष्णसवरन गाउँपालिका–१ सीतापुरमा बस र भ्यान ठोकिँदा सोही गाउँपालिका–३ का २५ वर्षीय ओमप्रकाश चौधरीले ज्यान गुमाएका छन् । पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १८२७ नम्मरको बस विपरीत दिशाबाट आउँदै गरेको को १ ज १५५१ नम्वकरको भ्यानमा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।


दुर्घटनामा गम्भिर घाईते भएपछि उपचारार्थ कञ्चनरुप नगरपालिका स्थित धर्मेश्वर अस्पताल ठेलीयामा भर्ना गरिएका चौधरीको उपचारकै क्रममा मृत्यु भएको थियो । सो घटनामा सीतापुरकै रवीन्द्र चौधरी घाईते भए, उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भएको छ ।
सोहिदिन शम्भुनाथ नगरपलिकामा स्कारपियोले साईकललाई ठक्कर दिदा रुपनी गाउँपालिका १ का २४ बर्षिय सुबान मियाको मृत्यु भयो । यसैगरी, वैशाख ९ गते दुध दुवानी गर्ने को१ख ६२०६ नम्वरको गाडीले ठक्कर दिदा हनुमाननगर कंकालिनी गरपालिका–१ भलुवाटोलका वातैर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।


यसैगरी वैशाख ८ गते राती ना५ख ८५५९ नम्वरको ट्रकले मे ७ प ७३७ नम्वरको मोटरसाईकललाई कञ्चरुप नगरपालिका–११ स्थित महुली चौकमा ठक्कर दिदा सोहि नगरपालिका २ वस्ने २५ वर्षिया अनिता चौधरीको मृत्यु भएको थियो ।
यतिमात्रै होईन, चालु आर्थिक वर्षको साउनदेखि वैशाख १५ गतेसम्म सप्तरीमा जम्मा २९५ वटा सवारी दुर्घटना भएका छन् । जसमा ४९ जनाले ज्यान गुमाएको र ४५४ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीको रेकर्डमा उल्लेख छ ।


सवारी साधनको वढ्दो चाप, जिर्ण वन्दै गएका सडक र ट्राफिक नियमको उलंघन गर्दै तिव्र गतिमा सवारी संचालन गर्ने सवारी चालक अनि असुरक्षित रुपमा वाटो काटने यात्रुका कारण सवारी दुर्घटनामा वृद्धि भएको ट्राफिक प्रहरी प्रमुख श्रेष्ठ वताउँछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियमित चेकजाँचका साथै तालिम, प्रशिक्षण, कारवाही तथा विभिन्न प्रकारका वैकल्पीक उपाय समेत प्रयोग गरिरहेको छ । लामो दुरीका सवारी साधनलाई रोकेर विस्तारै जानोस भन्ने ‘एक मिनेट कार्यक्रम’, सवारी रोकेर चालकलाई मुख धुन लगाउने र फ्रेस वनाएर पठाउने ‘रिफ्रेसमेण्ट कार्यक्रम’, विद्यार्थी अभिभावकलाई प्रशिक्षण, चालक–सहचालकलाई तालिम लगायतका विभिन्न कार्यक्रम नियमित रुपमा संचालन भईरहेको छ ।


यसैगरी, सवारीको स्पिट चेकजाँच गर्न राडर गनको प्रयोगलाई पनि प्राथमिक्तामा राखिएको छ । तर, राडर गन पुर्वाञ्चलमा जम्मा १ थान मात्रै छ । मुस्किलले डेढ महिनामा एक हप्ताका लागि पालो आउने गरेकाले खासै अर्थपुर्ण सावित गर्न नसकिएको ट्राफिक प्रहरीहरु वताउँछन् ।
यति गर्दा पनि अटेर गर्ने सवारी र चालकलाई कारवाही समेत गरिएको ट्राफिक प्रमुख श्रेष्ठले वताए । उनका अनुसार वैशाख महिनामा मात्रै ९१३ सवारी साधन कारवाहीमा परेका छन् भने चालु आर्थिक वर्षमा कुल १५ हजार ५१८ सवारीलाई कारवाही गरिएको छ । नियमित रहेको भईरहेका यस्ता कृयाकलापले दुर्घटनालाई केहि हदसम्म रोकेपनि निमिट्यान्नै पार्ने सवालमा भने सवारी चालक र यात्रुले पनि सजग रहुन पर्ने उनको सुझाव छ ।