September 20, 2017

मायाको मान्द्रो, मायाकै बिस्कुन

गर्नु छ धेरै बाँच्नु छ अझै लामो छ जीवन
दुखमा आँखा चिम्लिनु पर्छ हुँदैन रुदन
चारै र मैन्हा कसै र पनि यो कष्ट खप्टिनू
हे भाइ मेघ ! उनलाई मेरो यो सम्चार भन्दिनू ।

परदेशी भावमा बगेका यी उक्तिहरु कालिदासले त्यो समयमै कल्पना गरेका थिए । जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कविको शाश्वत उदाहरण बनेका यी पंक्ति सदैव कालजयी छन् । जस्ले जे अर्थ लगाएपनि यी पंक्तिमा एउटा जोडी मन बोलेको छ ।

मनमा अनौठो कुत्कुती जागेको छ । मन झट्ट सुन्दा मात्र दुई अक्षरको शब्द । दिल, हृदय, चित्त, अन्तष्करणका इच्छा, कामना, अभिलाषा धेरै धेरै नामले पुकारिए पनि यसको आफ्नै विशिष्टता र महत्व छ ।

उसको मन कति कमलो हगि ! ऊ त कति कठोर ! उसले मन दुखाउला नि ! मनले रोजेपछि रोज्यो रोज्यो, आखिर उसको पनि त मनै हो, कसो नपग्लिएला र ? उ त असाध्य मनकारी छ बाबै ! ए मन चोर्ने मान्छे, मन दिएर पढ है– यी र यस्तै अभिव्यक्तिले पनि मनको विशालता दर्शाउँछ ।

तपाईं मन विनाको मान्छे कल्पना गर्न सक्नुहुन्छ ? पक्कै सक्नुहुन्न । जो अलि निर्दयी जस्ता लाग्छन् , उनीहरुलाई औंल्याउँदै भनिन्छ– उसको मन त कति कठोर छ हगि । मनबाटै प्रेम जन्मन्छ, स्नेह अंकुराउँछ र करुणा उत्पन्न हुन्छ । प्रेमको खानी हो मन । अनुरागको भण्डार हो मन ।

एक अर्काप्रति आकर्षित हुने र त्यो आकर्षणलाई हुर्काउँदै हुर्काउँदै अनुरागमा रुपान्तरित गर्ने मुख्य औजार हो मन । मन मायाप्रीतिको अथाह समुद्र पनि हो । त्यहाँ सवै कुरा अटाउँछन् । रिस राग पनि हुन्छ, क्रोध पनि हुन्छ । आवेश र उत्तेजनाहरु पनि हुन्छन् ।

मन हाँस्छ पनि रुन्छ पनि । सुखको अनुभूतिमा फुरुक्क पर्छ । दुख र पीडाको अनुभवमा नमिठोसंग छट्पटाउँछ । प्रेम र अनुरागका मामलामा फुरुङ्ग हुने मन कहिलेकाहीँ अधैर्य पनि हुन्छ । कसैलाई भेट्ने र केही पाएरै छोड्ने आकांक्षाले कुत्कुत्याउन थालेपछि मन चञ्चल हुन्छ ।

एकपल्ट आफैले आफैलाई सोध्नुस् त– तपाईंको मन कतिको फुर्किने गरेको छ ? र, सबैभन्दा उल्लेख्य कुरा मन सधैं सन्तोष र आनन्द खोज्छ । मनमा सन्तोष भएपछि केही नभएपनि सबैथोक पूर्ण भएजस्तो लाग्छ ।

त्यसैले त महाकवि देवकोटाले लेखेका छन् ः
हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नो खाएको बेस आनन्दी मनले ।

माया र सम्बन्धका विषयमा धेरै लेखिएका छन् । माया कसरी पलाउँछ ? प्रेम कसरी हुर्कन्छ ? माया र प्रेमका कुरा किन यति चाखलाग्दा र हार्दिक हुन्छन् ? यी सबैका पछि कुनै रहस्य त छैन् ? पक्कै छ, ती सबैका पछाडि एउटै कुरा छ । वास्तवमा मन नै त्यो रहस्यको नाम हो ।

तपाईं सौन्दर्यप्रति आकर्षित हुनुहुन्न भने, संगीतप्रति लोभिनु हुन्न भने, माया र स्नेहले पग्लिनु हुन्न भने ठोकेरै भन्न सकिन्छ– तपाईंको मन मनजस्तो छैन् । त्यो मरिसकेको छ । तपाईं ढुंगेनी बगरमा लडाइरहनुभएको छ आफूलाई ।

रुखो व्यवहार देखाउने मान्छेहरुको मनमा यस्तै बगरको बालुवा भरिएको हुन्छ । तर कुनै गरिबको रामझुपडीमा पनि तपाईंले न्यानो आतिथ्य र मीठो व्यवहार पाउनुभयो भने उसको मनमा फूलैफूलको बगैंचा भएको प्रमाणित हुन्छ । र यस्तो मीठो व्यवहारले प्रेमको संसारमा मलजलको काम गर्छ । प्रेमले सबैलाई जित्छ । अविश्वास, ईष्र्या, घृणा, द्वेष सबै – सबै कुराहरु प्रेमका अगाडि निस्तेज हुन्छन् ।

चोखो प्रेमले कठोरभन्दा कठोर मनलाई क्षणभरमै पगालिदिन्छ । तर, त्यसका लागि कर्ताको मन चोखो र उदार हुनुपर्छ । महात्मा गान्धीले एक प्रसंगमा भनेका थिए- ‘घरलाई सुन्दर पार्नु अर्कै कुरा हो । तर मान्छेको उन्नतिका लागि हृदय मन्दिरलाई सुन्दर पार्नु बढी आवश्यक छ ।’

सौन्दर्यको कुरा जहाँ उठ्छ, त्यहाँ मनको कुरा पनि आउँछ । मनले नै राम्रो कुरालाई राम्रो भनेर रसास्वादन गर्छ । तपाईंले आत्मिक सौन्दर्यको कुरा सुन्नुभएको हुनुपर्छ । त्यही नै हो मनको सौन्दर्य । पारखीहरु मनको सौन्दर्यलाई नै बढी रुचाउँछन् ।

सुन्दर अनुहारमा पनि एकदिन चाउरी पर्छ । अनुहारको सौन्दर्य अस्थायी हुन्छ । रोमियो, जुलियट, मुना, मदनका अमर प्रेम प्रसंग पढ्नुस् त त्यहाँ प्रेम र मन पानीमा चिनी घुलेझै घोलिएका छन् । मान्छेहरु भन्छन्– मदनसंग मुना ल्हासा गएको भए के हुन्थ्यो ? उत्तर सहज छ– मुना मदन कृतिको जन्म हुने थिएन् ।

माया नै मायाले भरिएको चोखो मन न कहिल्यै बुढो हुन्छ, न टाढिन्छ नै । मन र मायाको टेलिप्याथीका अगाडि संसारका आविष्कारहरु पनि लाखौं दूरी पछाडि परेको भान हुन्छ । मनको कुवामा पलाउने माया प्रकृतिको त्यस्तो सुन्दरतम् बस्तु हो, जुन कहिल्यै पुरानो हुँदैन् ।

एक विश्व सुन्दरीलाई सोधिएको यसैखाले प्रश्नको उत्तरमा उनले जवाफ दिएकी थिइन्– ‘मानिस मनले सुन्दर भयो भने मात्रै शरीर सुन्दर हुन्छ । मनमा खोट छ भने शारीरिक सौन्दर्यको कुनै अर्थ छैन् । त्यो त केही वर्षमै नासिएर जान्छ ।’ ती सुन्दरीलाई यही जवाफले उत्कृष्ट बनाएको थियो ।

मान्छेको मन सोख र रहरहरुसंग पनि जोडिएको हुन्छ । कसैलाई हल्लैहल्लाको संसारमा हल्लाबाज भएर बाँच्ने रहर । कसैलाई घमण्ड गर्ने रहर । कोही बहिर्मुखी, कोही अन्तर्मुखी । थरिथरिका मान्छे र थरिथरिका रहर । मनबाटै यस्ता रहर निस्कन्छन् । कस्तो रहरलाई कसरी पूरा गर्ने भन्ने कुरा पनि मनले नै निर्देशित गरिरहेको हुन्छ ।

अनि मन मिल्ने मान्छेहरु बीच अनि एउटा नयाँ साइनो विकसित हुन थाल्छ । जब मन मनको साइनो प्रगाढ हुन्छ, त्यसलाई कसैले हल्लाउन सक्दैन् । चोखो प्रेमका अगाडि सबै- सबै षड्यन्त्रहरु भुत्ते सावित हुन्छन् । सम्भवतः त्यसैले हुनसक्छ– प्रेमको याचना गर्नेहरुले पनि मनकै कुरा उठाउँछन् ।

जीवनको परिभाषा खोज्न अन्त कतै जानु पर्दैन । कसैले यसलाई बाचैबाचाको गीतजस्तो देख्छन् । कसैलाई लाग्छ– यो आँसु र हाँसोको दोभान हो । अनि जीवनको अर्थ खोज्दै जाँदा कोही उत्साही र प्रफुल्ल बन्छन् । कोही उदास बन्छन् ।

मायाको मान्द्रोभरि मायाकै बिस्कुन सुकाउँदा सुकाउँदै पनि कहिलेकाहीँ मौसमले साथ दिँदैन् । सोच्दै नसोचेको बखत असिना पर्छ । अचानक कालाम्मे हुन्छ आकाश । बिस्कुन उठाउन नपाउँदै झरी पर्छ । तर केही बैंसालुहरु झरीमा पनि मायाको प्रतिबिम्ब भेट्छन् ।

कसैलाई झरीले असाध्यै सताउँछ, आँखा पग्लिरहन्छ मैन पग्लेजस्तै । आँसुका थोपाहरु गुँडुल्किरहन्छन् । अनि अक्करै अक्करको यात्रामा भिजेका परेली र सुकोमल मनहरु निरन्तर पग्लिरहन्छन् । बैंशालु मनहरु मायाको अर्थ खोज्न भौंतारिरहन्छन् ।

कसैले चिसिएको मुटु सेक्ने घाम देख्छन् मायालाई । कसैलाई फूलजस्तो लाग्छ, कसैलाई बारम्बार तड्पाइरहने शूलजस्तो लाग्छ । डाडुले पोल्दैमा माया पस्किनेहरु आत्तिनु पर्दैन् । प्रेमले घोच्छ पनि सुम्सुम्याउँछ पनि । आजको पीडा भोलि उल्लास बनेर प्रकट हुनसक्छ ।

तोडिनेहरुको मन, जोडिन पनि सक्छ । हराउनेहरुको भेटिन पनि सक्छ । माया धैर्य पनि हो । मन चोखो छ भने, धैर्य र आत्मविश्वास छ भने मायाका अनुभूतिहरु पलाउँदै र झाँगिदै जान्छन् । प्रेमले कहिले घोच्छ त कहिले सुम्सुम्याउँछ । निश्चिन्त रहनुस् चोखो फूल हैन, मन हो । मायाको निश्चल प्रवाहलाई न हिजो, न आज, न त भोलि नै कसैले रोक्ने दुस्साहस गर्नेछ ।