October 22, 2017

पाकिस्तानी निर्णयलाई चुनौती दिन जाधवसँग केवल दुई विकल्प

काठमाण्डौ, ३१ चैत्र । पूर्व भारतीय जलसेनाका अधिकारी कुलभुषण जाधवलाई पाकिस्तानको सैन्य अदालतले जासुसीको आरोपमा मुत्युदण्डको सजाय सुनाएसँगै दुई देशबीच विवाद चुलिएको छ ।

पाकिस्तानको यो कदमलाई लिएर संसदमा विदेशमन्त्री सुषमा स्वराजले भनिन्, ‘यदि जाधवलाई मृत्युदण्ड दिइयो भने भारतले यसलाई सुनियोजित हत्याका रुपमा लिन्छ ।’ साथै उनले जाधवलाई भारत फर्काउनका लागि गर्नुपर्ने सबै काम गरिने पनि बताइन् ।

भारतीय पक्षले कुनै जासुसले आफ्नो खल्तीमा वैध राहदानी राखेर त्यस्तो काममा नलाग्ने भन्दै यस घटनालाई दुर्भाग्यको रुपमा लिएको छ । जाधवसँग फिल्ड जनरल कोर्टको फैसलालाई चुनौती दिने जम्मा दुई विकल्प मात्र छन् ।

जाधवले उक्त निर्णयमाथि हेरफेर गर्न नागरिक अदालतमा र पाकिस्तानको सैन्य अपिलिय न्यायाधिकरणसँग अपिल गर्न सक्नेछन् । यसअघि नै जाधवलाई पाकिस्तानको रक्षा मन्त्रालयले अपिल गर्नका लागि ६० दिनको समय दिइसकेको छ ।