October 22, 2017

एमालेको घोषणापत्र तयार, आईतबार दिउँसाे सार्वजनिक गरिने

काठमाण्डौ, १५ वैशाख । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि लक्षित गरेर ल्याउन लागेको चुनावी घोषणापत्र तयार पारेको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले सुझाव सहितको घोषणापत्र तयार पारेको हो । ५३ पेज लामो घोषणापत्र संशोधनसहित तयार पारिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । भिम रावल, प्रदिप ज्ञवाली र सुरेन्द्र पाण्डे रहेको समितिले सबैको सुझाव समेटेर तयार पारिएको अन्तिम मस्यौदा शनिबार अपरान्ह बस्ने स्थायी कमिटीको बैठकमा पेश गर्नेछ ।

वार्षिक ५ लाखलाई रोजगारी दिने र वृद्धभत्ता मासिक ५ हजार पुर्‍याउने योजनासहितको घोषणापत्र तयार पारिएको भट्टराईले जानकारी दिए । एमालेले आइतबार दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । त्यसैगरी नेकपा एमाले स्थायी कमिटी बैठकले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने निर्णय गरेको छ ।

बैठकले वैशाख ३१ गते को निर्वाचन कुनै पनि हालतमा हुनुपर्ने निष्कर्ष निकालेको भट्टराईले जानकारी दिए ।