अब अनलाइनबाटै विद्युतको महशुल तिर्न सकिने

काठमाण्डाै, ५ भदाै । नेपाल बिद्युत प्राधिकरणले विभिन्न सेवाप्रदायक बैंक तथा वित्तिय संस्थामा मार्फत अनलाइनबाटै विद्युतको महशुल तिर्न सकिने व्यबस्थाको सुरुवात गरेको छ ।

ऊर्जा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले अनलाइन बिल भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् । उनले मोबाईलबाटै एक ग्राहकको विद्युत महशुल अनलाईन मार्फत भुक्तानी गरेर सो सेवाको उद्घाटन गरेका हुन् ।

तत्काल काठमाण्डौका ग्राहकले मोबाइलबाट बिल भुक्तनी बैंकिङ सेवा मार्फत मोबाइलबाट पनि सहजै रुपमा घरमै बसेर महसुल तिर्न सक्नेछन् । यस्तै ग्राहकले प्रभु बैंक तथा इ सेवाका मोबाइल एप्प डाउनलोड गरेर पनि भुक्तानी गर्न सक्नेछन् ।

मन्त्री शाहीले सुचना र प्रविधिको विकासले विश्व एक गाँउमा परिणत भएको अवस्थामा सुचना र प्रविधिको प्रयोगमा ढिलाई गर्न नहुने बताए ।
कार्यक्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहकलाई बढी भन्दा बढी सहज सेवा दिने लक्ष्यका साथ अनलाइन भुक्तानी प्रणाली सुरुवात गरिएको जानकारी दिए । ग्रामीण क्षेत्रमा न्यूनतम रु ८० महसुल तिर्न चार सय सम्म खर्च गर्नुपरेको भन्ने गुनासो आइरहेको बेला यस्तो प्रविधिले सहजता ल्याउने विश्वास गरिएकाे छ ।