August 16, 2017

पहिलो खेलमा कोलकत्ता विजयी, दोस्रो खेलमा पञ्जाब र हैदराबाद भिड्दै

काठमाण्डौ, १५ वैशाख । भारतमा जारी इन्डियन प्रिमिएर लिग (आइपिएल) अन्तर्गत आजको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले हराएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले ६ विकेट गुमाएर १ सय ६० रनमात्र बनाउन सक्यो । उसका लागि सन्जु सामसनले ६० र श्रेयस एअरले ४७ रनको पारी खेले । कोलकत्ताका लागि नाथन कौल्टर–नाइलले ३ विकेट लिए भने उमेश यादव र सुनिल नारायनले समान १–१ विकेट हात पारे ।

१ सय ६१ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १६.२ ओभरमा ३ विकेटको क्षतिमा सहजै जित निकाल्यो । उसका लागि कप्तान गौतम गम्भिरले नटआउट ७१ र रोबिन उथापाले आक्रामक ५९ रनको पारी खेले । दिल्लीबाट कागिशो रवाडाले २ विकेट लिए ।

दोस्रो खेलमा भने मोहलीमा रहेको पञ्जाब क्रिकेट एसोसियसन स्टेडियममा किंग्स एलाभेन पञ्जाब र सनराइज हैदराबाद आमनेसामने भएका छन् । टस जितेर पञ्जाबले फिल्डिङ रोजेको छ ।