September 25, 2017

खारेज भइसकेको अदालती फैसलामा टेकेर मेडिकल कलेजलाई सम्बन्धन!

काठमाण्डौ, ५ भदाै । त्रिभुवन विश्वविद्यालयले काठमाण्डौ नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन देखाएको कारण अदालतकै पछिल्लो फैसला प्रतिकूल भएको पाइएको छ ।

सम्बन्धन पाऊँ भनी काठमाडौं नेसनलले दायर गरेको रिटमा ‘कानुनबमोजिम निर्णय गर्नू’ भन्ने अदालतको फैसलामा टेकेर सम्बन्धन दिएको दाबी त्रिवि उपकुलपति तीर्थ खनियालगायत पदाधिकारीले गरेका छन् ।

त्रिवि परिषद्ले साउन १२ मा सर्वोच्चको आदेशको बाहाना बनाएर प्रक्रिया नै पूरा नगरी ठाडै सम्बन्धन दिने निर्णय गरेको थियो । सो निर्णयबारे चिकित्साशास्त्र अध्ययन संस्थानलाई जानकारीसम्म नगराई गुपचुप राखिएको थियो । कलेजका सञ्चालक जैनुद्दिन अन्सारीले दायर गरेको रिटमा सर्वोच्चले २०७१ भदौ ३१ मा परमादेश दिएको थियो ।

त्यतिबेला सर्वोच्चका प्रधानन्यायाधीश दामोदर शर्मा र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले ‘कलेजको सम्बन्धनका विषयमा यथासमयमै निर्णय नगरी राख्नु वैध अपेक्षाको विपरीत हुने हुनाले शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै सम्बन्धन दिने विषयमा कानुनबमोजिम निर्णय गर्नू’ भनी परमादेश जारी गरेको थियो ।

यही सन्दर्भमा सर्वोच्चको दोस्रो फैसला आइसकेको अवस्थामा पहिलो आदेशमा टेकेर सम्बन्धन दिइएको हो ।  सर्वोच्चले सोही विषयमा साउन १९ मा अन्तिम फैसला सुनाएको थियो । याे खबर नागरिक दैनिकमा छ ।