September 20, 2017

झोले पत्रकारिताको पूर्वाभ्यास

अग्रज पत्रकार मदनमणि दीक्षितले २०१६ सालमा पत्रिका निकाल्ने निधो गरे । नाम जुराइयो, समीक्षा । पत्रिका त निकाल्ने तर हातमा कौडी थिएन । नेपाली कांगे्रसको सरकार थियो । बीपी कोइराला प्रधानमन्त्री थिए । दीक्षित नेपाल कम्युनिष्ट पार्टीका सक्रिय सदस्य थिए । नाम जुरिसकेको पत्रिका निकाल्नु पर्ने एउटा बाध्यता थियो ।

हातमा पैसा नहुँदा भावनाले काम नगर्ने पक्का थियो । फेरि सैद्धान्तिक विमतिका कारण कांग्रेस नेतृत्वको सरकारसंग सहयोगको याचना गर्न पनि नैतिक बन्धन थियो । अन्ततः उनले सैद्धान्तिक असहमति भएपनि प्रधानमन्त्री बीपी कोइरालालाई समर्थन गर्ने सम्झौतावादी मानसिकता बनाएर सहयोगको याचना गरे ।

पत्रकार दीक्षितकै कलमले उल्लेख गरे अनुसार पत्रिका निकाल्न सहयोग गरेवापत पत्रिकाले स्वीकारेका सर्त यस्ता थिए ।
१. पार्टी नेताको रुपमा होइन कि मुलुकको प्रधानमन्त्रीको रुपमा कोइरालाको समर्थन ।
२. संसदीय प्रधानमन्त्रीको स्तम्भजस्तै नेताको रुपमा उहाँलाई समर्थन ।
३. स्वतन्त्र नाम लिएर जहानियाँ शासनको अवशिष्ट रुढिवादी शक्तिका विरुद्ध कोइरालाका विचार र व्यवहारलाई समर्थन ।

मदनमणि दीक्षितले यिनै आधारभूमि तयार गरेर वीपी कोइरालालाई भेटे । महिनाको ६ सय रुपियाँ दिने सहमति भयो । बीपीले गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई भनेर काठमाडौमा समीक्षा पत्रिका दर्ता गराइदिए । पत्रिका छाप्न सहयोगको याचना गर्न बीपीको ढोका चाहारेका दीक्षित एक ठाउँ लेख्छन्– ‘पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीप्रति ममा कहिल्यै आन्तरिक श्रद्धा उत्पन्न भएन् । झुट्टा कुरा गरेर प्रशंसा गर्दै म आफ्नो कलमप्रति बेइमान गर्न सक्दिन् ।’

नेपालको समकालिन पत्रकारिताको कुरा गर्दा त्यो समयमा कस्तो बीउ रोपिएको थियो भन्ने तथ्यले वर्तमानलाई निर्देशित गर्छ । मदनमणि दीक्षित संस्कार, ज्ञान र पत्रकारिता जगतका भीष्म पितामह हुन् । तर उनको सम्झौतावादी स्वभावका कारण जसरी भीष्मको आड हुँदाहुँदै पनि कौरवको नास भयो, त्यसरी नै यस्ता महारथीहरु जीवित हुँदाहुँदै वस्तुनिष्ट, कर्तव्यनिष्ट र ज्ञान चक्षुको पत्रकारिताले हावा खाँदै गयो ।

उनले न कम्युनिष्ट पार्टीको सदस्य हुँ भन्ने गौरव बचाए, न साहसी पत्रकारिताको खम्बा गाडिन सक्यो न प्राज्ञिक मर्यादा नै कायम भयो । वीरगन्जमा आर्जिएको त्यो ‘माडसाब’को धरहारा नै जीवित रह्यो । अघिल्लो पुस्ताका पत्रकारहरुको विगत त्यसै पनि ताक परे तिवारी नत्र गोतामे प्रवृत्तिमा अल्झियो । त्यसै पनि त्यो बेला व्यावसायिकता थिएन ।

पत्रकार महासंघको पहिलो सभापति बनेका कृष्णप्रसाद भट्टराई पार्टी राजनीतिमा लागेर पनि दोस्रो भएनन । लोभानी पापानीबाट निरपेक्ष उनी गौरवपूर्ण इतिहास बनाएर पार्थिव भए । यद्यपि राजनीतिज्ञले पत्रकार बन्नुपर्ने नियति कति सापेक्षिक र कति निर्मम रह्यो ? त्यसको वस्तुनिष्ठ व्याख्या हुन जरुरी छ ।

मणिराज उपाध्याय सभापति त भए तर पत्रकारिताको कर्मले पत्रकारिता पन्पिएन, बरु यही भावभूमिमा पञ्चायती राजनीतिको ढोका खुल्यो । पछिल्लो चरण पत्रकार सारथीहरुको चरित्र रेखा थापाजस्तो दल बदलुभन्दा माथि जान सकेको छैन् । रमेशनाथ पाण्डे एक समयका चर्चित पत्रकार थिए । सानै उमेरमा इन्दिरा गान्धीको अन्तर्वार्ता समेत लिन भ्याए ।

आफूलाई अति चलाख सम्झिने बानीलाई विश्वास नगर्ने हो भने वस्तुतः उनी दरबारिया थिए । पत्रकारिताको खोलमा उनले अधिकांश जीवन राजा महेन्द्रको आफ्नो भएर बीपीको गुप्तचरीमा विताए । महेन्द्र नामको राजनीतिक सिक्का चलुन्जेल त्यही चलाए, जब त्यो सिक्का खोटो भएर बीपी सिक्का चल्न थाल्यो अनि रमेश बाबु भनेर बीपीले लेखेका चिट्ठी निकालेर यताको व्यापार उत्लका संग बढाए ।

रुखमा नयाँ पालुवा आएपछि स्वभावतः पुराना पात झर्नुपर्छ । यो प्रकृतिको नियम हो । तर गम लगाएर भएपनि टाँसिन खोज्ने प्रवृत्तिका कारण अघिल्लो पुस्ताकै बाछिटाले अहिले पनि साम्राज्य जमाएको छ । जब हामी पत्रकारितामा निष्पक्ष कलमबाजको कुरा गर्छौं, त्यसको चुरो कुरो दलीय पत्रकारिता रहर हो या कहर त्यसको मर्ममा पुग्ने साहस कसैले गर्दैन् ।

संसारको इतिहासले भन्छ, एउटा पुस्ताले खुकुरीको चुनौतीपूर्ण धारको यात्रा सकुशल सम्पन्न नगरेसम्म अर्को पुस्ताले सुखद विहानी देख्न पाउँदैन् । च्वास्स दारी पालेर एउटा झोला र कलम बोकेपछि पत्रकारको योग्यता पूरा भएको सम्झनेहरु देखि आई फाइभको पुस्तासम्म आइपुग्दा नेपाली पत्रकारिताले अपेक्षित काँचुली फेर्न सकेको छैन् ।

आधुनिक प्रेस, कम्प्युटर भित्रिएर पत्रकारिताको विकास हुने होइन । यसका लागि उच्चतम सोच र त्यसलाई व्यवहारमा परिवर्तन गर्ने क्षमताको विकासले मात्र न्याय गर्न सक्छ । पत्रकारहरु दलमा किन लाग्छन् ? के सामाजिक सुरक्षाको अन्तरवस्तुले नै तिनीहरुलाई त्यतातर्फ डोर्याउने हो त ? वास्तवमा केही समय यता जसरी नेपाली राजनीति दलबाट गुटमा विभाजित भएको छ, त्यसरी नै पत्रकारिताको धार पनि त्यसैगरी मोडिएको छ ।

अब दललाई हैन, व्यक्तिलाई धारेहात लगाएर निस्कने पत्रिकाको संख्या बजारमा अनगिन्ती हुने गरेको छ । आफू राम्रो बन्ने होइन, अरुलाई खाल्डोमा हालेर धरहरा चढेको सपना देख्नेहरुको समाजमा बिगबिगी छ । एकातिर अपराध गरेको सम्पत्ति चोख्याएर समाजमा दुई चारदिन पत्रकारिताको रंग दलेरै भएपनि ठूला मिडिया हाउस खोल्ने टाइसुटे दलाल र अर्कातिर संघर्षसंगै व्यावसायिकताका भाषण छाँटेर चियामा चिनी घुलेजस्तै स्वार्थको चास्नीमा पौडिने वरिष्ठहरुको चपेटाबाट पत्रकारिता जोगाउनु अहिलेको चुनौती हो ।

यही मौसमी सोचका कारण पत्रकार हुनुको स्वधर्म, आचार संहिताका विषय एकादेशका कथा बनेका छन् । एकपटक कुनै टेलिभिजनले प्रसारण गर्ने राजनीतिक कार्यक्रमको प्रत्यक्ष प्रसारण स्मरण गर्नुस् त । फिल्डमा हुने रिर्पोर्टरले त्यही भेलालाई सयको संख्यामा देख्छ भने स्टुडियोमा हुनेले हजारको गन्ती लगाउँछ । यहाँ समस्या गन्तीको होइन, समस्या दृष्टिकोणको हो ।

स्टुडियोमा हुने रिर्पोर्टर एउटा पार्टीको हुन्छ भने फिल्डमा हुने रिर्पोर्टर अर्को पार्टीको । यसरी समाचार दिँदा पनि तिनीहरु समाचारीय धर्मभन्दा पनि दलीय कर्तव्यबाट प्रेरित रहेको बुझ्न कठिन हुन्न । भर्खरै सम्पन्न संविधानसभाको चुनावमा दुईवटा टेलिभिजन च्यानल त लगौंटी फुकालेरै मैदानमा आए ।

एबीसी टेलिभिजनलाई यतिसम्म फसाद पर्यो कि माओवादी पहिलो दल बन्छ भन्ने ढुक्क भएर उसले महिनौं अघि रिजल्टको तारतम्य मिलाएको रहेछ । जब गन्तीका क्रममा धेरै समयसम्म माओवादी शून्यमा थियो, शून्यमा रहेको उसैलाई एबीसीले पहिलो बनाइरह्यो । उद्धब पौडेल राप्रपा नेपालका प्रत्याशी थिए ।

सिनेमा देखाउने र गीत बजाउने अनुमति पाएको उनको टेलिभिजनले त्यसबेला आफ्नो कर्तव्य नै विर्सिएर लाग्यो मालिकको प्रचारमा । उनको सर्मनाक हारपछि आखिर त्यो प्रचार सिनेमाको तीनघण्टे दृश्यजस्तै विलायो ।

मिडिया हाउसका नाममा खुलेका खुलेका यी मिनी राजनीतिक सटर र पत्रकारका नाममा त्यहाँ कार्यरत करारी कार्यकर्ताहरुको संयोजन रहेसम्म नेपालको पत्रकारिता सूचना दिने हैन, कोच्याउने प्रवृत्तिबाट मुक्त नहुने पक्का छ ।