वाईसीएलको राष्ट्रिय सम्मेलन आज, अध्यक्षमा दिपशिखा र शैलेन्द्रकाे दाबेदारी

काठमाण्डौ, २ भदौ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको दोस्रो राष्ट्रिय एकता सम्मेलन आजबाट काठमाण्डौमा सुरु भएकाे छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजे कोटेश्वर पार्टी प्यालेसमा सम्मेलनको उद्घाटन गरे । आजै सुरु हुने बन्दसत्रले विधान र आर्थिक प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ ।

अध्यक्ष पदमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ र लक्ष्मी चौलागाईं ‘शैलेन्द्र’ मुख्य दाबेदार छन् ।  दिपशिखा हाल वाईसीएलको महासचिव छन् भने चौलागाईं उपाध्यक्ष हुन् ।

यसैगरी महासचिवमा सुवोधराज शेर्पाली र सुमन देवकोटा मुख्य दाबेदार छन् । सम्मेलनले अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक–एक जनासहित उपाध्यक्ष ३ जना चयन गर्नेछ । यस्तै सचिव ११ जना चयन हुनेछन् ।

सातवटा प्रदेशबाट सातजना, खुलाबाट एक जना, समावेशीबाट तीन जना गरी जम्मा ११ जना सचिव हुनेछन् । सम्मेलनबाट १७ सदयस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।