बालिकाको हत्या गरेर फरार अभियुक्त भारतको हरियाणाबाट पक्राउ

कञ्चनपुर, २ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मटेनामा १० वर्षकी बालिकाको हत्या गरेर फरार भएका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका मटेनाका १० वर्षकी बालिका शीतल विष्टको गएको साउन २२ गते घाँटी च्यापेर हत्या गरी स्थानीय गौताडी खोलामा बाढीमा बगेको भनी घटना मोड्न खोजेका स्थानीय ३० वर्षका अभियुक्त हीरासिंह ऐरीलाई प्रहरीले भारतको हरियाणाबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको टोलीले अभियुक्त ऐरीलाई हरियाणास्थित आफन्तको डेराबाट नियन्त्रणमा लिई भीमदत्तनगर पु¥याएको छ ।

प्रहरीसमक्ष ऐरीले बालिकाको घाँटी च्यापेर हत्या गरेको स्वीकारेका छन् ।  जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले छिमेकमा खेल्न भनी गएकी बालिका विष्टलाई मादक पदार्थ सेवन गरेका अभियुक्त ऐरीले हत्या गरी राति नजिकैको खोलामा लगेर फालेको बताए ।

बालिकाको बगेर मृत्यु भएको हल्ला गरिएपनि शव परीक्षण रिपोर्टमा हत्या भएको हुनसक्ने भन्दै प्रहरीले घटनाको विस्तृत अनुसन्धान थालेको थियो । हत्या गरिएकी बालिकाका परिवारले ल्याएको उजुरीअनुसार प्रहरीले अभियुक्त ऐरी पक्राउ गर्नुअघि नै थप दुईजनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइसकेको थियो ।